चैत्र १५, २०८० बिहिबार March 28, 2024

पाँच कम्युनिस्ट एकीकरण छलफल तीव्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र पारिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच एकीकरण छलफल तीव्र बनेको हो ।

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकीकरण विषय टुंगो लागिसकेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी तीनै पार्टीले एकीकरणका लागि वार्ता टोली गठन गरेर छलफल थालेका छन् । तीनै पार्टीले एकअर्काको दस्तावेज लिएर अध्ययनसमेत गरिरहेका छन् ।

जसपासँग एकीकरणका लागि छलफल गरेको एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पनि छलफल थालेको छ । तीनै पार्टीबीच छुटाछुटै छलफल भएको छ ।

जसपा र एकीकृत समाजवादीबीच विभिन्न चरणमा छलफल भइसकेको छ । अहिले दुवै पार्टीको वार्ता टोलीमा रहेका नेताले एकअर्काको दस्तावेज अध्ययन गरिरहेका छन् ।

उता, एकीकृत समाजवादी माओवादी केन्द्रसँग समेत एकीकरणका लागि दस्तावेज अध्ययन गरिरहेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच स्थानीय निर्वाचनपछि एकीकरणका लागि वार्ता टोली गठन गरेर छलफल भएको थियो । तर, संघीय र प्रदेशसभा निर्वाचनमा जुटेकाले एकीकरण प्रक्रिया रोकिएको थियो ।

निर्वाचनअघि नै माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाबीच एकीकरण सहमति भइसकेको छ । सो सहमतिअनुसार नेसपाका नेता माओवादी केन्द्रको चुनाव चिह्न र घोषणापत्र लिएर निर्वाचनमा सहभागी भए । केही दिनभित्रै दुवै पार्टी एकीकरणको औपचारिक घोषणा तयारीमा छन् ।

तर, सो एकीकरणअघि अन्य दलबीचसमेत सहमति जुटाएर एकै चरणमा एकीकरण घोषणा तयारीमा शीर्षनेता छन् । विभिन्न चरणमा पार्टी एकताका लागि जुटेका दलले प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)लाई समेत एकीकरण प्रक्रियामा सहभागिता लागि पहल थालेका छन् ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया