वैशाख ४, २०८१ मंगलबार April 16, 2024

गौतमबुद्ध विमानस्थल : अन्तरराष्ट्रिय उडान बन्द हुँदा किस्ता तिर्न समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल (जीबीआईए)मा अहिले अन्तरराष्ट्रिय उडान बन्द छ । भैरहवास्थित उक्त विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्दै आएका हिमालय एयरलाइन्स र जजिरा एयरलाइन्सले १ महीनादेखि उडान बन्द गरेका छन् ।

७ महीना सञ्चालन भएको यो विमानस्थलबाट मङ्सिर २९ गतेबाट हिमालय र पुस ६ गतेबाट जजिराले उडान बन्द गरेका हुन् । त्यसयता उक्त विमानस्थलमा अन्तरराष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थल कार्यालयका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । ‘आन्तरिक उडानबाट वार्षिक ३५ करोड रुपैयाँसम्म आम्दानी हुन्छ,’ दाहालले भने, ‘यसले सामान्य खर्च व्यवस्थापन भए पनि विदेशी ऋणको साँवा/ब्याज तिर्न गाह्रो हुने देखिन्छ ।’

उनका अनुसार अहिले साँवा र ब्याज गरेर वार्षिक ४० करोड रुपैयाँ किस्ता तिर्नुपर्छ । ऋण संरचनाअनुसार यो विमानस्थलमा लिइएको ऋणको साँवाब्याज ६/६ महीनामा भुक्तानी गर्नुपर्छ, जसअनुसार यो विमानस्थलले अन्तरराष्ट्रिय उडानबाट मात्रै आम्दानी गरेर मासिक ३ करोड ३३ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने देखिन्छ । विमानस्थल सञ्चालनमा आएको पहिलो वर्ष दैनिक एउटा अन्तरराष्ट्रिय उडान हुने प्रक्षेपण गरिएको उनको भनाइ छ ।

यो विमानस्थलमा एशियाली विकास बैंक (एडीबी), ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओएफएफआईडी)सहितका विकास साझेदार संस्थाको लगानी छ । तराईका विमानस्थलमा हिउँदको समयमा मौसम प्रतिकूल हुँदा बिहानपखको उडानमा ढिलाइ हुने समस्या पुरानै भए पनि यो विमानस्थलमा मौसमकै कारण उडान/अवतरणमा समस्या नहुने अर्थात् कम भिजिबिलिटीमा पनि अवतरण गर्न सक्ने प्रविधि जडान गरिएको छ । कम भिजिबिलिटी (८०० देखि ९०० मीटर)मा पनि जहाज अवतरण हुन सक्ने आईएलएफ (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) प्रविधि जडान भए पनि सुचारु हुन भने सकेको छैन ।

विमानस्थल सञ्चालनमा आएको ७ महीना र अहिले बन्द भएको १ महीना गरी ८ महीना हुँदासम्म भारतले आईएलएफ सुचारु गर्ने अनुमति नदिएको दाहालको भनाइ छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मुलुकका विमानस्थलहरूमा जहाज अवतरण हुनका लागि भिजिबिलिटी १६ सय मीटर र २ हजार मीटरसम्म हुनुपर्छ । २ खाले इन्जिन भएका जहाज अवतरणका लागि छुट्टाछुट्टै भिजिबिलिटी हुनुपर्छ । जेट इन्जिन भएका विमानका लागि भिजिबिलिटी २ हजार मीटर आवश्यक हुन्छ ।आर्थिक अभियान दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया