चैत्र १६, २०८० शुक्रबार March 29, 2024

काम नै नगरी बुझ्छन् कर्मचारी तलबभत्ता 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जाजरकोट जुनीचाँदे गाउँपालिकामा कार्यरत केही कर्मचारीहरु कार्यालयमा नआए पनि तलबभत्ता भने बुझ्ने गरेको खुलासा भएको छ । अधिकांश स्वास्थ्य संस्थामा कार्यरत स्वासथ्यकर्मी नेपालगन्ज, सुर्खेत बसेर गाउँपालिकाबाट तलबभत्ता बुझ्ने गरेको पाइएको हो । जुनीचाँदे गाउँपालिकाको आधारभूत स्वास्थ्य इकाइ दह करुवामा कार्यरत अहेव सुवास शाही गत २९ मंसिरदेखि कार्यालय गएका छैनन् ।

उनी अध्ययनका लागि दुई महिनादेखि काठमाडौँमा छन् । काठमाडौँ बसे पनि नियमित रुपमा उनले गाउँपालिकाबाट तलबभत्ता खाँदै आएका छन् । गएको साउन महिनादेखि अहिलेसम्म कार्यालयमा नियमित छैनन् । पछिल्लो पटक मंसिर महिनामा स्वास्थ्य कार्यालय आएको उनी हाजिर गरेर गएको स्वास्थ्यकर्मीहरू नै बताउँछन् ।

मंसिरपछि उनी कार्यालयमा फर्किएका छैनन् । हाजिरी रजिष्ट्ररमा २०७९ मंसिर २९ गतेसम्म हाजिर गरेका छन् । तर, पालिकाले शाहीलाई पुस महिनासम्मको तलबभत्ता बुझाएको छ । कार्यालयले हाजिर प्रमाणित भएर तलब निकासा दिने गरेको छ । स्थानीयहरूका अनुसार शाहीको आधा तलब कार्यालयका पावरवाला व्यक्तिले लिन्छन् । कार्यालयकै मिलेमतोमा शाहीले काठमाडौँमा बसेको र गाउँपालिकाबाट सेवासुविधा लिँदै आएको जनप्रतिनिधिहरू बताउँछन् ।

जुनीचाँदे गाउँपालिकाको सामुदायिक इकाइ स्यालागाउँमा कार्यरत जीवनसागर शाही र कृष्ण शाही पनि लामो समयदेखि सुर्खेतमा छन् । दुबै जना अध्ययनका लागि सुर्खेत झरेका हुन् । उनीहरूलाई पनि स्वास्थ्य शाखाले सुटुक्क अध्ययनका लागि सुर्खेत पठाएको हो । उनीहरूले गएको साउनदेखि कार्यालयमा हाजिर गरेका छैनन् । हाजिर नगरे पनि नियमित रुपमा सेवासुविधा लिँदै आएका छन् ।

सोही गाउँपालिका डाँडाकोट स्वास्थ्य शाखाका डाक्टर हरिबहादुर शाही पनि सुर्खेत पुगेका छन् । उनलाई पनि स्वास्थ्य शाखाले नै अध्ययनका लागि बाहिर पठाएको हो । सुर्खेत बसेर पढे पनि स्वास्थ्यकर्मी शाहीले गाउँपालिकाबाट नियमित रुपमा तलबभत्ता खाँदै आएको गाउँपालिकाको स्रोतले जनाएको छ ।

उल्लेखित घटना केही प्रतिनिधि पात्र मात्रै हुन् । जुनीचाँदेका पावरवाला अधिकांश कर्मचारीहरू सुर्खेत, काठमाडौँ लगाएका सहरमा छन् । अध्ययनका लागि सहर पसेका कर्मचारीहरूले भने गाउँपालिकाबाट नियमित तलबभत्ता लिँदै आएको गाउँपालिकाको स्रोतले बताएको छ । जनप्रतिनिधि र सम्बन्धित शाखा प्रमुखसँग राम्रो सम्बन्ध भएका करार कर्मचारीहरू अध्ययनका लागि सुर्खेत, काठमाडौँ पुगेका हुन् । पावरवाला कर्मचारीहरू वर्षको दुइदेखि चारपटक मात्र स्वास्थ्य संस्थामा पुग्ने गरेको गुनासो जनप्रतिनिधिहरू पोख्छन् ।

पालिकाका विभिन्न २२ वटा स्वास्थ्य संस्थाहरूमा करार स्वास्थ्यकर्मी ६६ जना कर्मचारीहरू कार्यरत छन् । ती कर्मचारीमध्ये दर्जनाँै कर्मचारीहरूले काम नै नगरी गाउँपालिकाबाट तलबभत्ता बुझ्ने गरेका हुन् ।

गाउँमै भएका केही कर्मचारी कार्यालय नियमित जाँदैनन्, केही कर्मचारी भने सुर्खेत, काठमाडौँमा बसेर अध्ययन गर्दै आएका छन् । नियमित कार्यालयमा नजाने कार्मचारीहरूलाई भने गाउँपालिकाले नियमित रुपमा सेवासुविधा दिने गरेका जनप्रतिनिधिहरूनै स्वीकार गर्छन् ।

यता स्वास्थ्य संस्थाहरूलाई चुस्तदुस्त बनाउनुपर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले भने कुनै पनि कर्मचारीले विदामा वा अध्ययनमा नगएको दाबी गरेका छन् । केही कर्मचारीहरू काजमा अन्यत्र गए पनि अध्ययन र विदामा कुनै कर्मचारी नगएको बताउँछन् । उनी आफै गाउँपालिकाको कामको लागि भन्दै काठमाडौंमा छन् ।

स्वास्थ्य संस्थाको समग्र नेतृत्व स्वास्थ्य शाखा सहसंयोजक योज्ञेश्वर बस्नेतले हेर्दै आएका छन् । बस्नेत आफैँले सबै स्वास्थ्य संस्थामा पुगेर कर्मचारीको अवस्था अध्ययन, अनुगमन गरेका थिए । उनी अनुगमनमा जाँदा अध्ययनका लागि पालिका बाहिर रहेका कर्मचारीहरू कार्यालयमा फर्किएका थिए । सोही समयमा कर्मचारीहरूले एकैपटक महिनादिनको हाजिर गरेर फर्किएको जनप्रतिनिधिहरू बताउँछन् । कर्मचारीहरू उपस्थित भए÷नभएको बारेमा जानकारी लिन खोज्दा कर्मचारीहरूले आफूलाई नटेर्ने जनप्रतिधिहरू बताउँछन् ।

जुनीचाँदे गाउँपालिका–५ का वडाध्यक्ष जयबहादुर बस्नेत, वडा ३ का वडाध्यक्ष जयबहादुर खड्काले कर्मचारीले आफूहरुलाई नटेरेको बताए । जानकारी नदिएर आफूखुसी कर्मचारीहरु जहाँ मन लागे त्यही जाने गरेको उनीहरुको गुनासो छ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया