वैशाख ११, २०८१ मंगलबार April 23, 2024

काठमाण्डौं महानगरले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड हटायो

आर्थिक ऐन – २०७९ बमोजिम छ वर्ग फुटसम्मको होर्डिङ बोर्डको वार्षिक पाँच सय शुल्क निर्धारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौं महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड हटाएको छ । महानगरले नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाएका होर्डिङ बोर्ड हटाएको हो ।

महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरीसहित चार टोली खटाएको छ । विशेषगरी नयाँ बानेश्वर,  कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारी जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र त्यसअनुरुप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो ।

महानगरले आर्थिक ऐन – २०७९ बमोजिम छ वर्ग फुटसम्मको होर्डिङ बोर्डको वार्षिक पाँच सय शुल्क निर्धारण गरेको छ । त्यसैगरी १५ वर्ग फुटसम्मका लागि एक हजार पाँच सय र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रति वर्गफुट एक हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असूल गर्दै आएको छ । विभिन्न स्थानमा राखिएका बोर्डबाट असूल हुने रकम व्यवसाय कर अन्तर्गत पर्दछ ।

चालु आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा ५५ करोड रुपैयाँ उठाउने लक्ष्य लिएकोमा पुस सम्म ३१ करोड ४२ लाख रुपैयाँ असूल उपर गरेको डा अधिकारीले बताउनु भयो ।

लामो समयदेखि असूल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रुपमा उठिरहेको विभागको भनाइ छ । महानगरले पछिल्लो समय पटक–पटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम पनि असूल हुन थालेको बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया