चैत्र १६, २०८० शुक्रबार March 29, 2024

आधाले घट्यो खाद्यान्न आयात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः चालू आर्थिक वर्षको मध्यसम्ममा चामल आयात आधाले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना (साउन–पुस)सम्ममा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपियाँको चामल आयात भएको छ । गत वर्ष सो अवधिमा १७ अर्ब ६० करोड ६८ लाख एक हजार रुपियाँको चामल आयात भएको थियो ।

भारतले गत भदौ महिनामा चामलको निर्यातमा लगाएको कर, विदेशी मुद्रा बचत गर्न आयातमा गरिएको प्रतिबन्ध र नेपाल राष्ट्र बैङ्कले एलसी (प्रतीतपत्र)मा नगद मार्जिनको व्यवस्था गरेका कारण चामलसँगै अन्य खाद्यान्नको आयातमा कमी आएको हो ।

आन्तरिक आपूर्तिलाई बलियो बनाउनका लागि भन्दै भारतले गत भदौ महिनामा चामल निर्यातमा २० प्रतिशत कर लगाएको थियो । त्यसको प्रभावले आयातमा कमी आएको छ ।

यो वर्ष धानको उत्पादन बढेकाले पनि आयातमा कमी देखिएको हो । छिमेकी मुलुक भारतबाट ठूलो परिणाममा चामल आयात हुने गर्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले आयातमा गरिएको कडाइका कारण चालू आर्थिक वर्षको सुरुदेखि नै खाद्यान्न आयातमा कमी आएको बताउनुभयो ।

भारतले धान र चामलमा कर बढाएका कारण आयातमा कमी आएको उहाँले जानकारी दिनुुभयो । नेपालीको खाने बानीमा आएको परिवर्तन, मौज्दात र धानको उत्पादन बढेका कारण पनि आयातमा कमी भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नेपाली उपभोक्ता पछिल्लो समय भातसँगै अन्य खाद्यान्नको प्रयोग बढी गर्न थालेका कारण खपतमा कमी आई चामल आयात घटेको हुन सक्छ । यसले गर्दा व्यापार घाटामा कमी भई स्वदेशी उत्पादनमा आत्मनिर्भरतर्फ गएको सङ्केत देखिन्छ ।”गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया