चैत्र १६, २०८० शुक्रबार March 29, 2024

सरकारी वेबसाइट पाँच घण्टा अवरुद्ध

राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बढी मात्रामा प्रभावित 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाल सरकारका वेबसाइट शनिबार करिब पाँच घण्टा अवरुद्ध भएका छन्। दिउँसो करिब १२:३० बजेदेखि बेलुका साढे पाँच बजेसम्म जीओभी डटकम डटएनपी सरकारी वेबसाइट नचल्दा सेवाग्राही मर्कामा परेका छन्।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)को सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बढी मात्रामा प्रभावित भएका छन्। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले शनिबार दिउँसो १२ बजेदेखि आएको प्राविधिक समस्याका कारण छवटा उडानका झन्डै आठ सय यात्रुको हवाई यात्रा प्रभावित हुन पुगेको जानकारी दिनुभयो।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)को सर्भरमा रहेका जीओभी डट कम डट एनपी सरकारी साइटमा समस्या 

उहाँले भन्नुभयो, “अध्यागमनको सर्भर डाउन भएका कारण विमानस्थलबाट भित्रिने र बाहिरिने यात्रुको यात्रा प्रभावित भयो। समयमै जहाज उड्न नपाएपछि कैयौँ कनेक्टिङ फ्लाइटसमेत प्रभावित हुन पुगे।”

यात्रुको सुविधाका लागि म्यानुअल सिस्टममार्फत यात्रा सहजीकरण गरिएको उहाँको भनाइ छ। अन्तर्राष्ट्रियतर्फका कुनै उडान रद्द नभए पनि नेपाल वायुसेवा निगम, भिस्तरा, इन्डिगो, फ्लाई दुबई, थाई स्माइल र एयर इन्डियाले ढिला (डिले) गरेर उडान भरेको उहाँले जानकारी दिनुभयो।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बढी मात्रामा प्रभावित 

करिब दुई घण्टासम्म प्राविधिक समस्या समाधान नभएपछि सम्बद्व मन्त्रालय र विभागसँग छलफल गरेर यात्रुको यात्रा विवरण टिपेर म्यानुअल उडान सुरु गरिएको विमानस्थलस्थित अध्यागमन विभागका प्रमुख वासुदेव घिमिरेले बताउनुभयो। उहाँले भन्नुभयो, “समस्या समाधानका लागि विभिन्न प्रयासबीच विमानस्थलमा यात्रुको भीड बढ्दै गएपछि यात्रु आक्रोशित र उद्दण्ड देखिएपछि उनीहरूको व्यवस्थापन गर्दै म्यानुअल उडान सुरु गरिएको हो। समस्या समाधानपछि यात्रुको विवरण प्रणालीमा अद्यावधिक गरिएको छ।” यस्तै प्राविधिक समस्याका कारण वैदेशिक रोगजार विभाग र विमानस्थलस्थिल भन्सार विभागका कामकारबाहीमा समेत समस्या पुगेको थियो।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)को सर्भरमा रहेका जीओभी डटकम डटएनपी सरकारी साइटमा यस्तो समस्या देखिएको हो। राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका सहायक निर्देशक तथा सूचना अधिकारी रमेश पोखरेलले एनआईटीसीको सर्भरमा रहेको फायरवालमा मेमोरी (सीपीयू) एक्कासि बढेको देखिएको जानकारी दिनुभयो। उहाँले प्रारम्भिक अध्ययनबाट साइबर आक्रमण (डीएनएस अट्याक) भएको देखिएको बताउनुभयो।

“विस्तृत अध्ययन गर्दा ‘डीएनएस अट्याक’ भएको पुष्टि भएको छ। कहाँबाट यस्तो आक्रमण भएको हो भन्ने विषयको विस्तृत अध्ययन हामी गर्दै छाैँ। मल्टिपल ठाउँबाट यस्तो अट्याक (आक्रमण) आएको हो। यस विषयमा भोलि (आइतबार)सम्ममा पत्ता लगाइसक्छौँ,” उहाँले भन्नुभयो। प्रारम्भिक अध्ययनबाट एनआईटीसीको सर्भर फायरवाल र डीएनएममा अट्याक्ट देखिएको जानकारी उहाँले दिनुभयो। पोखरेलका अनुसार साइबर आक्रमणबाट सरकारी वेबसाइटका डाटा र सूचनामा भने कुनै हानि भएको छैन। गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया