चैत्र १६, २०८० शुक्रबार March 29, 2024

हुम्लामा दैनिक चौध घण्टा लोडसेडिङ

बिहानदेखि बेलुकासम्मको अधिकांश समय लोडसेडिङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हुम्लाको हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्न थालेको छ । पानीको स्रोत कम भएको र नदीको पानी पनि जमेका कारण विद्युत् उत्पादन कम भएकाले लोडसेडिङको समय वृद्धि गर्नु परेको आयोजनाले जनाएको छ ।

सिमकोट बजारका ओबराज शाहीले बिहानदेखि बेलुकासम्मको अधिकांश समय लोडसेडिङ हुने भएकाले काममा बाधा परेको गुनासो गरे । राति ९ः३० बजेपछि भने विद्युत् आपूर्ति हुने गरेको छ ।

हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले हिउँदको समय भएकाले नदीको पानी प्रवाह कम हुने भएका कारण लोडसेडिङको समय वृद्धि भइरहेको बताए । नदीमा पानीको प्रवाहमा कमीका साथै भएको पानी पनि जमेर बरफ बन्ने भएकाले बिहानको समय त विद्युत् उत्पादन गर्न नसकिएको उनले स्पष्ट पारे ।

यो आयोजनाले अन्य समयमा पनि मागअनुसार विद्युत् आपूर्ति गर्न सकेको छैन । हिल्दुम जलविद्युत् आयोजनाले हाल एक सय किलोवाट विद्युत् उत्पादन गर्ने गरेको छ । जब कि माग एक मेगावाट रहेको छ ।

विद्युत् उत्पादन क्षमता पाँच सय किलोवाट रहेको यो आयोजनाले सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुई हजार एक सयभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

यसैगरी सिमकोट गाउँपालिका–८, स्याँडा गाउँका बासिन्दा एक हप्तादेखि अन्धकारमा बस्न बाध्य छन् । गाउँमै उत्पादन गरिएको लघुजलविद्युत् आयोजनाको टर्वाइनमा समस्या आएपछि विद्युत् उत्पादन बन्द भएको हो । सो गाउँका वडाध्यक्ष कमल बुढाले विद्युत् उत्पादन नहुँदा करिब २७० घरधुरी प्रभावित भएको बताए ।

गारघट्ट खोलामा सात वर्षअघि पावरहाउस निर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको थियो । सो विद्युत् उत्पादन भएपछि यी गाउँमा हिल्दुम साना जलविद्युत् आयोजनाको बिजुली वितरण गरिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया