वैशाख ४, २०८१ मंगलबार April 16, 2024

बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा बाँकेमा दुई वर्षीय छोराको मृत्यु

जलेर गम्भीर घाइते भएका दुई वर्षीय बालक प्रिन्सको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । श्रीमती घाइते छिन् ।

स्थानीय ३० वर्षीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गङ्गा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए । त्यसपछि भारततर्फ भागेका उनलाई प्रहरीले गएराति साढे १ बजेतिर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

जलेर गम्भीर घाइते भएका दुई वर्षीय बालक प्रिन्सको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । भानुभक्तलाई भारतको नानपारा आसपासबाट नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको पनि उहाँले बताउनुभयो ।

भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गङ्गालाई कुटपिट गर्ने गरेको स्थानीय बताउँछन् । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो । त्यसपछि गङ्गा आमाजूको घरमा गएर बसेको बताइएको छ । साँझ पाँच बजेतिर गङ्गा माइत जान भनेर हिँडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएका थिए ।

बालक  को कम्मर भन्दा माथिको भाग जलेको थियो । श्रीमती गङ्गाको पनि घाँटी, हात, कान लगायतका भाग जलेको छ । प्रहरीका अनुसार गङ्गाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ ।

घटनाबारे जानकारी पाए लगत्तै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी र वडा अध्यक्ष हरि कठायतले उनीहरूलाई सुरुमा नेपालगन्ज मेडिकल कलेज पुर्‍याउनुभएको थियो । । त्यहाँ उपचार सम्भव नहुने भएपछि नेपालगन्जस्थित भेरी अस्पताल लगिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया