वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए ।

हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजतलास तीव्र पारेको छ । सर्च टोली फरार थुनुवामध्ये रोशन महतोलाई पक्राउ गर्न सफल भएको हो ।

फाइल तश्वीर

मिथिला नगरपालिका–६ का २८ वर्षीय महतोलाई हिजो बेलुका पुनः पक्राउ परेको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिनुभयो । उनीमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ । महतोलाई हतियारसहित गत शनिबार मात्रै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।

महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य पाँचजनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो ।

हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् ।

लागूऔषध, हातहतियार, अभद्र व्यवहारका सातजना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए । पुरानो भवनमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर बिहान ३ बजे थुनुवाहरू फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया