वैशाख ४, २०८१ मंगलबार April 16, 2024

अघि बढ्यो रोल्वालिङ खोला जलविद्युत् आयोजना

आयोजनाबाट वार्षिक सरदर एक सय पाँच गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सहायक आयोजनाको रुपमा रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

आयोजनाले विद्युत् विकास विभागमा उत्पादन अनुमतिका लागि आवेदन दिएको छ । कुल २२ मेगावाट क्षमताको सो आयोजना नदी प्रवाहमा आधारित आयोजना हो । यसको डिजाइन बहाव १३ दशमलब चार घनमिटर प्रतिसेकेण्ड छ । आयोजनाको कुल हेड दुई सय सात मिटर छ । आयोजनाबाट वार्षिक सरदर एक सय पाँच गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।

यस्तै, डाइभर्सन स्किमबाट वार्षिक दुई सय १६ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचना रोल्वालिङ खोलाको दायाँ किनारामा पर्छ । रोल्वालिङ खोलामा बाँध बाँधी खोलाको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काएर सो पानीलाई आयोजनाको मुख्य संरचना निर्माण गरिनेछ ।

आयोजनाको विद्युत् उत्पादनका लागि खोलाको पानी फर्काउन ४२ मिटर लामो र चार मिटर उचाइको कङ्क्रिट ग्रेभिटी वेयर बनाइनेछ । विद्युत् गृहमा दुई वटा टर्बाइन रहनेछ । ती टर्बाइनबाट १० दशमलब ४९ मेगावाट बिजुली उत्पादन हुनेछ । विद्युत् उत्पादनपछि निस्केको पानीलाई सात सय ४० मिटर लामो सुरुङमार्फत माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयमा खसालिनेछ ।

विद्युत् गृहबाट उत्पादित बिजुली आठ दशमलब चार किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनबाट बिगु गाउँपालिका–१ गोंगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रस्तावित ३३÷२२० केभी सबस्टेशनमा जोडिनेछ ।

आयोजनाबाट २०८४ साल मङ्सिर १ गतेभित्र विद्युत् उत्पादन हुनेछ । सो आयोजना निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली उत्पादनमा समेत गुणात्मक वृद्धि हुनेछ । अर्धजलाशययुक्त प्रकृतिको सो आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादनका लागि रोल्वालिङ खोला जलविद्युत् आयोजना सहयोगी हुनेछ ।

आयोजनाको डिजाइनलगायतको काम नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले गरेको हो । सो आयोजनालाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्वको आयोजनाको रुपमा चित्रण गर्दै आउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया