वैशाख १३, २०८१ बिहिबार April 25, 2024

आकर्षक तलबकाे लाेभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घन्टासम्म काममा लगाइयाे

पिडितको कुवेतबाट उद्धार गरि आरोपीमध्ये दुई जनालाई पक्राउ गरी अनुशन्धान शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः आकर्षक तलबको लोभ देखाएर एक महिलालाई कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाएर मानसिक र शारीरिक यातना दिएको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पीडित महिलाले दिएको सूचनाका आधारमा उनलाई कुवेतबाट उद्धार गरिएको छ भने आरोपीमध्ये दुई जनालाई पक्राउ गरिएको छ ।

ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले पीडितको जाहेरीपछि पक्राउ पर्नेमा उदयपुरका ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलामका डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका जानकारी दिनुभयो । केही आरोपी कुवेतमै रहेको र केही फरार रहेकाले खोजी जारी रहेको उहाँले बताउनुभयो ।

ब्युरोमा प्राप्त विवरणअनुसार ती व्यक्तिहरूले सुरुमा कुवेतमा रहेको रेस्टुरेन्टमा वेट्रेसको काममा मासिक आकर्षक तलब दिने र त्यहाँ राम्रो काम गरेपछि पोर्चुगल र अमेरिकाका रेस्टुरेन्टमा समेत पठाइदिने लोभ देखाएर गएको मङ्सिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भ्रमण भिसामा यूएई हुँदै कुवेत पुर्‍याएका थिए ।

कुवेत पुगेपछि उनलाई अन्य एजेन्टमार्फत् एक हजार ३०० दिनारमा बिक्री गरेको खुलेको छ । त्यसपछि उनलाई दैनिक १८ घण्टासम्म श्रम शोषण गरी मानसिक र शारीरिक यातना दिएको महिलाले दिएको जाहेरीमा उल्लेख छ ।

आफूले यातना पाएको भनी उनले दिएको सूचनाका आधारमा परिवारले ब्युरोमा उजुरी दिएका थिए । ब्युरोले कुवेतमा रहेकाे नेपाली राजदूतावाससँगको समन्वयमा उनलाई यही माघ ४ गते उद्धार गरी नेपाल फर्काएको थियो । पीडित महिलाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम हदैसम्मको कारबाही गरी पाउँ भनी माघ १० गते जाहेरी दिएकी थिइन् ।

अहिले कुवेतमै रहेका एक आरोपीले पीडितको मोबाइल नियन्त्रणमा लिई उनको फेसबुकबाट विभिन्न व्यक्तिलाई अश्लिल कुराकानी गर्ने र त्याे कुराको रेकर्ड पीडितका श्रीमान् लगायतका आफन्तलाई पठाइ धम्की दिने गरेको खुल्न आएको छ ।

उनीहरूले पीडित महिलालाई धम्की दिई कुवेतमा आफूखुसी आएको र बेचबिखनमा परेको होइन, नेपाल गएपछि यस विषयमा उजुरी गर्ने छैन भन्ने बेहोराको कागज गराइ भिडियोसमेत बनाएको खुल्न आएको छ ।

यस घटनामा संलग्न रहेका अन्य फरार व्यक्तिको खोजी जारी रहेको ब्युरोले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया