वैशाख ६, २०८१ बिहिबार April 18, 2024

फरार सांसद कोइरीविरुद्ध ‘डिफ्युजन नोटिस’को तयारी

प्रतिनिधिसभाका फरार सांसद लक्ष्मी महतो कोइरीविरुद्ध प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधिसभाका फरार सांसद लक्ष्मी महतो कोइरीविरुद्ध प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गर्ने तयारी गरेको छ । जसका लागि प्रहरीले उनको ‘लोकेसन ट्रयाकिङ’लाई तीव्र तुल्याएको छ । सूचनाअनुसार कोइरी अहिले भारतमा लुकेर बसेका छन् ।

मातहतका प्रहरी कार्यालयलाई सोहीअनुसार ‘सर्कुलेसन’ गरिसकेको नेपाल प्रहरीले पक्राउका लागि गोप्य रूपमा टोली परिचालन गरेको हो । पक्राउमा सघाउन प्रहरीले भारतीय समकक्षीसँग पनि अनौपचारिक पहल गरिरहेको छ । तर, सही ‘लोकेसन’ खुल्न नसक्दा सफलता हात पर्न सकेको छैन । यही स्थिति केही दिन लम्बियो भने प्रहरीले कोइरीविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्नेछ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी पोषराज पोखरेलले भने, ‘फौजदारी अभियोग लागेका एक सांसद फरार छन् । उनीको खोजीमा प्रहरी लागेको छ । उनलाई पक्राउ गर्न आन्तरिक ‘सर्कुलेसन’ भइसकेको छ । सकेसम्म उनलाई आन्तरिक पहलबाटै पक्राउ पर्ने पक्षमा प्रहरी छ । यदि त्यस्तो हुन सकेन भने ‘डिफ्युजन नोटिस’ जारी गर्नुपर्ने हुन्छ ।’

‘डिफ्युजन नोटिस’ जारी भएलगत्तै कोइरी पक्राउको सूचना ‘इन्टरपोल’को ‘च्यानल’भित्र प्रवेश गर्नेछ । जुन सूचना स्वतः इन्टरपोल सदस्य राष्ट्रका प्रहरीसमक्ष प्रवाह हुनेछ । जसबाट सदस्यराष्ट्रका प्रहरीसमक्ष कोइरी पक्राउमा दबाब पुग्नेछ । देशको सीमाभित्र नरहेका फरार अभियुक्त पक्राउ गर्न प्रहरीले यस्तो अस्त्र प्रयोग गर्छ ।

प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयले पक्राउ आदेश दिएलगत्तै कोइरी भागेर भारत गएका थिए । गृहले कोइरीलाई तत्काल पक्राउ गर्न भन्दै गत ६ माघमा नेपाल प्रहरीलाई लिखित निर्देशन दिएको थियो । तत्कालीन गृहमन्त्री रवि लामिछानेको समेत नाम उल्लेख गरी दिइएको निर्देशनलगत्तै उनी भागेर भारत गएका थिए । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया