चैत्र १६, २०८० शुक्रबार March 29, 2024

नयाँ सांसदहरु पनि पुरानै सरह सत्तामा लिप्त भए : धनराज गुरुङ

नेताहरु ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै अझै पनि नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसका सांसद धनराज गुरुङले देश गम्भीर आर्थिक संकटतर्फ उन्मुख रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेताहरु ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै अझै पनि नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने बताए ।

उनले आँखा अघि नै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरु आफ्नै स्वार्थमा लागिपरेको बताए । उनले जनताको स्वार्थ भन्दा मन्त्रीहरु पुरानो गाडी परिवर्तन गर्नुहोस् भन्नेतर्फ लागिपरेको आरोप लगाए । उनले देश गफले मात्रै चल्न नसक्ने भन्दै संसद जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले संसद नीति निर्माण भन्दा पनि घोचपेचमा नै सकिँदै गइरहेको बताए ।

उनले भने, ‘मुलुक भयानक आर्थिक संकटतर्फ उन्मुख छ । हामीले ठूला सपना मात्रै बाँडिरहेका छौँ । त्यो बाँड्दै गर्दापनि हाम्रै आँखा अघि व्यवसायीहरु धरापमा परेको देखिरहेका छौँ, आत्महत्या त धेरैले गरिसकेका छन् । आत्मदाह आफ्नै अघि गरिरहेका छन्, यसले पनि छुँदैन कि के हो, दिनदहाडै आत्मदाह भएको छ । व्यवसायीमा कोलाहाल मच्चिरहेको छ, तैपनि सरकारमा बस्ने मन्त्रीहरु पुरानो गाडी भयो नयाँ गाडी पाउँ भनेर निवेदन गरिरहेको छ । हामी यस्तो बिडम्वना भोगिरहेका छौँ । सपना बाँडेर, गफ गरेर मात्रै हुँदैन, संसद संसद नै हो, सार्वभौम जनताको सत्ता हो, यसमै घोचपेचका मात्रै कुरा हुन्छ । हामी नेताहरु गफ मात्रै गरिरहन्छौँ, काम गर्दैनौँ । देश अधोगतितिर उन्मुख छ ।’

सांसद गुरुङले मन्त्री र प्रधानमन्त्री पदकै लागि नेताहरु पटकपटक लडिरहेको बताए । उनले यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित भएका नयाँ प्रतिनिधि सभा सदस्यहरु पनि पुरानै नेताहरु सरह सत्तामा लिप्त भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया