चैत्र १६, २०८० शुक्रबार March 29, 2024

एमसिसीको अनुदान सहयोगमा निर्माण गर्न लागिएको सवस्टेशनप्रति बेलकोटगढी असन्तुष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को अनुदान सहयोगमा निर्माण गर्न लागिएको सवस्टेशनप्रति बेलकोटगढी नगरपालिकाले असन्तुष्टि जनाएको छ ।

वडा नं७ स्थित देवीघाट–गल्छी सडकखण्डबाट छ सय मिटरको दूरीमा पर्ने रातमाटेको चौबिसे भन्ने स्थानमा निर्माण गरिने सवस्टेशन र विस्तार गरिने प्रसारण प्रणालीले नगरपालिकालाई लाभभन्दा क्षति पुग्ने भन्दै स्थानीय सरकारका तर्फबाट बेलकोटगढीले असन्तुष्टि जनाएको हो ।

नगरप्रमुख जगतबहादुर गुरुङले सवस्टेशनको निर्माणले नगरको राजस्व सङ्कलन, कृषि उब्जनीको उत्पादन, रोजगारीको अवसरलगायतमा नोक्सान पुग्ने भन्दै सवस्टेशन निर्माणसँगै नगरका लागि सहयोग कार्यक्रम आउनुपर्ने माग गर्नुभयो । उहाँका अनुसार उक्त सवस्टेशन राख्न करिब चार सय रोपनी क्षेत्रफल जग्गा मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसिए)–नेपालले खरिद गरेको छ । उक्त स्थानमा चारसय केभी क्षमताको ग्यास इन्सुलेटेड स्वीचगियर (जिआइएस) सवस्टेशन निर्माणका लागि अधिग्रहण गरिएको जग्गा अहिले खाली गर्न भनिएको छ ।

“राष्ट्रका लागि योगदान हुन्छ भनेर स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग पु¥याउँदै आइरहेका छौँ”, नगरप्रमुख गुरुङले भन्नुभयो, “यहाँका एक सय १४ घर परिवार बासिन्दा विस्थापित हुनुपर्ने, उनीहरूले सञ्चालन गर्दै आएको कृषि उब्जनीको उत्पादन घट्ने, उद्योग–कलकारखाना हटाउनुपर्दा रोजगारीको अवसर गुम्ने र त्यसबाट राजस्व सङ्कलन घट्दछ । पूर्वाधार निर्माणले नगरपालिकालाई प्रतिफल केही नहुने हो भने सञ्चालनमा किन सहयोग गर्नुप¥यो ?”

ऊर्जा र यातायात विकास कार्यक्रम एकै स्थानमा हुनुपर्ने

एमसिसी कार्यक्रमअन्तर्गत प्राप्त हुने अनुदानमार्फत ऊर्जा र यातायात विकास कार्यक्रम सञ्चालन गरिने भएकाले उक्त दुवै कार्यक्रम एकै स्थानमा सञ्चालन हुनुपर्ने नगरउपप्रमुख शिवप्रसाद दाहालले बताउनुभयो ।

ऊर्जा कार्यक्रमले निर्माण गरिने प्रसारण लाइनको निर्माण र सवस्टेशनले यहाँको बासिन्दालाई सयौँ वर्षसम्म जोखिम पुर्याउछ । तर, यातायात विकासको लाभ लिन सकिने कार्यक्रम अन्यत्र लैजाँदा न्यायोचित नभएको उपप्रमुख दाहालको गुनासो छ । ऊर्जाको कार्यक्रममार्फत काठमाडौँको लप्सेफेदीबाट सुरु हुने प्रसारण लाइन नुवाकोटको रातमाटेसम्म आइपुग्ने र यहाँ निर्माण गरिने सवस्टेशनबाट एक लाइन हेटौँडामा सवस्टेशन निर्माण गरेर त्यहाँसम्म पुर्‍याइने छ । अर्को लाइन तनहुँ लगेर त्यहाँ निर्माण गरिने सवस्टेशन हुँदै बुटवलस्थित भारतको सीमासम्म पु¥याइने उल्लेख छ ।

एमसिसीको अनुदान सहायताअन्तर्गत अमेरिकी सरकारले पाँच वर्षको अवधिमा ५० करोड डलर उपलब्ध गराउनेछ भने नेपाल सरकारको तर्फबाट १३ करोड डलर बराबरको रकम विनियोजन गर्नुपर्ने भनिएको छ ।

कूल रकममध्ये प्रसारण लाइन र सवस्टेशन निर्माणमा ४० करोड डलर खर्च हुने उल्लेख छ । यातायात विकास कार्यक्रमअन्तर्गत कपिलवस्तुको चन्द्रौटादेखि लमहीहुँदै बाँके र दाङ जिल्लामा पर्ने शिवखोलासम्मको एकसय मिटर सडक स्तरोन्नतिसहितको कालोपत्रे गरिने भनिएको छ ।

ऊर्जाको कार्यक्रम सञ्चालन भएको स्थानमा नै यातायात विकास कार्यक्रम सञ्चालनको मागसहित प्रसारण लाइन र सवस्टेशनले पुग्ने नोक्सानलाई पुनःउत्थान गर्ने कार्यक्रम ल्याउन बेलकोटगढीले माग गरेको हो । हाल उक्त कार्यक्रमको सहायताअन्तर्गत सवस्टेशन निर्माणबाट प्रभावित हुने बासिन्दालाई कृषिअन्तर्गत उपलब्ध गराउन सुरु गरेको जीविकोपार्जन कार्यक्रमसमेत प्रभावहीन भएकाले संशोधन तथा परिमार्जन गर्नुपर्ने माग गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया