वैशाख ८, २०८१ शनिबार April 20, 2024

४२ दिनमै सरकारबाट बाहिरियो रास्वपा

चौतर्फी दबाबपछि रास्वपा र लामिछानेलाई गृह मन्त्रालय नदिने प्रधानमन्त्रीले निर्णय लिएपछि रास्वपा सरकारबाटै बाहिरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशको चौंथो शक्तिसहित राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको ४२औं दिनमा नै सरकारबाट बाहिरिएको छ ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले ११ पुसमा उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिँदै रास्वपालाई सरकारमा सहभागी गराएका थिए । त्यसबखत रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै सरकारमा गएका थिए ।

त्यसपछि ३ माघमा मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट दुई सांसद मन्त्री र एक सांसद राज्य मन्त्रीका रूपमा सरकारमा प्रवेश गरेका थिए । उनीहरूले मन्त्री बनेको २० दिनमा नै राजीनामा दिएका छन् । रास्वपाले आइतबार केन्द्रीय सदस्य र सांसदको संयुक्त बैठकमार्फत् सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय लिएको हो ।

रास्वपाको सो निर्णयसँगै सो दलबाट ३ माघमा सरकारमा श्रममन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल तथा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आइतबार साँझ नै प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

यसअघि नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि रास्वपा सभापति रहेका लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।

नेपाली नागरिकता पुनः प्राप्तिपछि उनले पुनः पुरानै जिम्मेवारीसहित सरकारमा सहभागी हुने इच्छा राख्दै आइरहेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले चौतर्फी दबाबपछि रास्वपा र लामिछानेलाई गृह मन्त्रालय नदिने निर्णय लिएपछि रास्वपा सरकारबाटै बाहिरिएको हो ।राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया