वैशाख ८, २०८१ शनिबार April 20, 2024

चक्रपथमा द्रुत गतिको विद्युतीय बस गुडाउने तयारी

प्राविधिक, सामाजिक र आर्थिक सबै पक्षबाट यो आयोजना सम्भव देखिएमा आयोजनाको थप काम अघि बढाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौं उपत्यकाको चक्रपथमा १ सय ६० यात्रु क्षमताका करीब ७५ ओटा द्रुत गतिका विद्युतीय बस गुडाउने तयारी शुरू गरिएको छ । लगानी बोर्डले चक्रपथमा दु्रत गतिमा चल्ने विद्युतीय बस र्‍यापिड ट्रान्जिट (ईबीआरटी) सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न भन्दै आइतवार प्रस्ताव आह्वान गरेको छ ।

बोर्डले सन् २०१९ मै यस आयोजनाका लागि पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ । त्यसपछि पनि बोर्डले अन्तिम सम्भाव्यता अध्ययन गर्न भन्दै गत मङ्सिर २६ सम्म प्रस्ताव पेश गर्न सकिने गरी अन्तरराष्ट्रिय रूपमा आह्वान गरेको थियो । तर, प्राविधिक समस्या भएको भन्दै उक्त प्रस्ताव आह्वानको सूचना स्थगित गरिएको थियो ।

काठमाडौं उपत्यकाको झन्झटिलो यातायात सेवालाई सुरक्षित, भरपर्दो र सहज बनाउन ईबीआरटी आवश्यक देखिएको लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले बताए । उनका अनुसार अहिले सम्भाव्यता अध्ययनका लागि प्रस्ताव मात्रै पेश गरिएको हो । प्राविधिक, सामाजिक र आर्थिक सबै पक्षबाट यो आयोजना सम्भव देखिएमा आयोजनाको थप काम अघि बढाइनेछ ।

यस परियोजनाअन्तर्गत चक्रपथमा दुईओटा डेडिकेटेड लेनको ईबीआरटी हुनेछ । यसका लागि साढे ७ देखि ८ मीटरको लेन छुट्ट्याइनेछ । ती लेनमा १ सय ६० सीट क्षमताका ७० देखि ७५ ओटा लामा आकारका द्रुत गतिमा चल्ने विद्युतीय बस गुड्नेछन् । यात्रुका लागि कम्तीमा २६ देखि ३० ओटासम्म चढ्ने र ओर्लने स्टेशन हुनुका साथै उनीहरूको सहजताका लागि हरेक स्टेशनमा बस छुट्ने र आउने समय तालिकासहित अन्य आवश्यक सूचना प्रवाहका लागि डिजिटल डिस्प्ले समेत राख्ने योजना रहेको छ । त्यसैगरी विद्युतीय सवारीसाधन चार्ज गर्न ३० स्थानमा आधुनिक चार्जिङ स्टेशन राख्ने योजना छ ।

शहरी यातायातलाई व्यवस्थित बनाउन मदत पुग्ने र वातावरणमैत्री पनि हुने भएकाले यो अवधारणालाई संसारका अधिकांश मुलुकले अवलम्बन गरेका छन् । कतिपय देशले सन् १९७४ देखि नै यस्तो अवधारणा लागू गरेको पाइन्छ । ब्राजिलले सबैभन्दा पहिला यस्तो अवधारणामा यातायात सेवा सञ्चालन गरेको थियो । हाल कोलम्बिया, मेक्सिको, चीन, इरान र ल्याटिन अमेरिकी मुलुकहरू यो अवधारणामा काम गरिरहेका छन् । बोर्डका अनुसार यो परियोजना पूरा गर्न करीब २० अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान छ ।आर्थिक अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया