वैशाख १२, २०८१ बुधबार April 24, 2024

यादवलाई हराउन सीकेको सक्रियता !

मधेशको एक्लो सिंह बन्ने महत्वाकाङ्क्षा राखेका राउत यादवलाई समाप्त नगरेसम्म आफ्नो सपना पूरा नहुने ठान्दछन् ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जसपा नेता उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच बारामा हुने उपनिर्वाचनमा पनि भीडन्त हुने भएको छ । गत आम निर्वाचनमा सुनसरीको एउटै निर्वाचन क्षेत्रमा प्रतिष्पर्धामा उत्रिएका यादव र राउतको लडाइँ चुनावी मैदानमा मात्र सीमित नरहेको देखाउँछ । मधेशको एक्लो सिंह बन्ने महत्वाकाङ्क्षा राखेका राउत यादवलाई समाप्त नगरेसम्म आफ्नो सपना पूरा नहुने ठान्दछन् । र, बारामा हुने उपनिर्वाचनमा समेत यादवलाई पराजित गरियो भने मधेश आफ्नो एकलौटी बजार बन्ने बुझाइ राउतमा रहेको पाइएको छ । त्यसैले राउत बारामा समेत यादवविरूद्ध मोर्चाबन्दी कस्ने र फेरि पनि शर्मनाक पराजय गराउने योजनामा रहेका छन् ।

उपेन्द्र यादव काङ्ग्रेस र माओवादीको समर्थन लिएर यादवहरूको सहयोगमा विजयी बन्ने कसरतमा छन् भने राउत उपेन्द्रविरोधी सबैलाई एक ठाउँमा ल्याएर चुनावी परिणाम आफ्नो अनुकुल तुल्याउन चाहन्छन् । सीके राउतले उक्त निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न लागेका सबैजसो ब्यक्तिहरूसँग भेटेर छलफल गरिसकेका छन् । जसले उपेन्द्रलाई सजिलैसँग हराउन सक्छ उसैलाई बल लगाएर जिताउने रणनीतिक योजनामा राउत छन् र, उनले उपेन्द्रविरूद्धको अभियान बारामा चलाइसकेका छन् ।

उता यादवले पनि सीके राउतविरूद्ध कठोर प्रस्तुति दिन थालेका छन् । यादवको विचारमा सीके विभाजनकारी हुन् र, उनी देश बिखण्डन गराउन चाहन्छन् । विखण्डनकारीलाई कुनै पनि नेपालीले साथ दिन नहुने यादवको भनाइ छ । बारामा प्रमुख प्रतिपक्षी एमालेले कस्तो रणनीति अवलम्बन गर्ने भन्ने कुराले निर्णायक अर्थ राख्दछ ।

एमालेको आफ्नो स्थिति कमजोर भएपनि हार या जित गराउन सक्ने हैसियतमा एमाले छ । उक्त निर्वाचन क्षेत्रमा एमाले र राउतको साथ पाउँदा आफू विजयी बन्नसक्ने विश्वास स्वतन्त्र उम्मेदवारी दिएर गत निर्वाचनमा बलियो मत प्राप्त गर्ने अधिवक्ता अरुण ज्ञवालीले गरेका छन् । उपेन्द्रलाई ‘पर्यटक उम्मेदवार’ भएको बताउने अरुण बाराको विकास बाराकै रैथाने उम्मेदवारबाट मात्र हुने दाबी गर्दछन् । घटना र बिचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया