वैशाख १३, २०८१ बिहिबार April 25, 2024

कांग्रेसको घोषणापत्र लेखेका वाग्लेले किन छाडे कांग्रेस ?

आफू २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विगत एक दशकयता नेपाली कांग्रेसको आर्थिक नीति र योजनाकारका रूपमा चिनिएका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस पार्टी नै छाडेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको दल कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । वाग्लेले २०७४ र गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको घोषणापत्र लेख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

‘२०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ वाग्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

वाग्लेले पछिल्ला वर्षमा कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएकाले आफू कांग्रेसबाट बाहिरिएको उल्लेख गरेका छन् ।

‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजू–साला–भतिजाको अक्षम गिरोहमा परिणत हुने क्रममा छ,’ उनले वर्तमान कांग्रेस नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै लेखेका छन् ।

वाग्लेले कांग्रेसमा आफूले विगत ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रूपमा रहेर आर्थिक नीति र योजना, वौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा काम गरेको समेत भनेका छन् ।

उनले राष्ट्रिय योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवाले दिएको जिम्मेवारी आफूले कुशलताका साथ सम्पन्न गरेको पनि उल्लेख गरेका छन् । वाग्लेले अब बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्ने लक्ष्य पनि खुलाएका छन् ।

‘कांग्रेस–कम्युनिस्टका असल मानिस, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपाली मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ,’ वाग्लेले भनेका छन् ।

उनले आफू २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने उल्लेख गर्दै भनेका छन्, ‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु, आम निराशा चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल ।’

रास्वपाबाट चुनाव उठने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ बाट प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार बन्ने चर्चा भइरहेको बेला रास्वपाका महामन्त्री मुकुन्द ढकालले वाग्लले घण्टी चुनाव चिह्न लिएर तनहुँबाट उपनिर्वाचनमा उम्मेवदार बन्ने पुष्टि गरे ।

कांग्रेस परित्याग गरेको घोषणा गर्नुअघि वाग्नेले रास्वपासँग छलफल गरेको ढकालले दाबी गरे । वाग्लेलाई कांग्रेसले उपनिर्वाचनमा टिकट नदिने निश्चित भएपछि रास्वपा उम्मेदवार बन्ने तयारी गरेका हुन् । तनहुँ १ बाट सांसद भएका नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ १० वैशाख २०८० मा उपनिर्वाचन हुन लागेको छ । कांग्रेसले सो क्षेत्रबाट नेविसंघका पूर्व अध्यक्ष गोविन्द भट्टराईलाई टिकट दिने निर्णय गरेपछि वाग्ले बिच्किएका हुन् ।

वाग्लेलले आफ्नो क्षमताअनुसारको अवसर पार्टीमा नपाउने भएपछि पार्टी परित्याग गरेको नेपाली कांग्रेसका नेताहरूले पनि स्विकारेका छन् । कांग्रेसका सांसद प्रदीप पौडेलले पार्टीबाट पनि गल्ती भएको स्विकारे । ‘उनले पार्टी छाड्नेभन्दा पनि पार्टीभित्रको कमजोरी सच्चाउने अभियानलाई दह्रो बनाउने बाटो रोज्नुपथ्र्यो,’ पौडेलले भने । वाग्लेले कांग्रेसका नेता गोविन्द्रराज पोखरेललाई ह्वाट्स एपमा एउटा पठाएको सन्देशमा ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको’ भनिएको छ ।

कांग्रेसको महाधिवेशनमा शेखर गगन पक्षमा खुलेर लागेको भन्दै नेपाली कांग्रेसका सभापति देउवा वाग्लेसँग रिसाएको बताइन्छ । देउवाले नै उनलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए पछिल्लो समय कांग्रेसको महासमिति सदस्यमा पनि देउवाले नै बनाएका थिए । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया