वैशाख १२, २०८१ बुधबार April 24, 2024

संकटग्रस्त अर्थतन्त्रलाई उकास्ने जिम्मा डा. महतको काँधमा

चालू आवमा कर र गैरकर गरी १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अर्थमन्त्रीमा नेपाली कांग्रेसका नेता तथा सांसद डा. प्रकाशशरण महत नियुक्त भएका छन् । उनले शुक्रबार नै अर्थमन्त्रीको पदभार ग्रहण गरेसँगै एक महिनादेखि रिक्त अर्थमन्त्री पदले पूर्णता पाएको छ ।

साथै, संकटग्रस्त अर्थतन्त्रलाई सामान्य अवस्थामा ल्याउने जिम्मेवारी पनि नवनियुक्त अर्थमन्त्री डा. महतको काँधमा पुगेको छ । जुन जिम्मेवारी उनलाई निकै चुनौतीपूर्ण हुने पनि देखिएको छ । किनकि, अहिले देशको अर्थतन्त्र असामान्य अवस्थामा छ । कोभिड महामारीपछि पुनरुत्थानतर्फ अग्रसर नेपाली अर्थतन्त्र रुस–युक्रेन युद्धका कारण पुनः प्रभावित भयो । साथै, त्यसपछिको महँगी, उच्च ब्याजदर, तरलता अभाव, कर्जा प्रवाहमा आएको संकुचन, मागको कमीलगायतका कारण पछिल्लो दुई वर्षयता अर्थतन्त्र संकटमा छ । हालसम्म आउँदा अर्थतन्त्रको बाह्य क्षेत्र सहज अवस्थामा आइसके पनि आन्तरिक अर्थतन्त्र भने अझै संकटग्रस्त छ ।

सरकारले चालू आवमा कर र गैरकर गरी १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, झन्डै नौ महिना बितिसक्दा पनि लक्ष्यको ४३.६६ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । चालू आवमा आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्‍याउने लक्ष्य छ । तर, पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ०.८ प्रतिशत मात्रै छ । त्यसपछिको तथ्यांक राष्ट्रिय तथ्यांक कार्यालले सार्वजनिक गरेको छैन । मूल्यवृद्धिदर पनि लक्ष्यभन्दा माथि पुगेको छ । चालू आवमा ७ प्रतिशतमा सीमित राख्ने भनिएको मूल्यवृद्धि दर ७.८८ प्रतिशत पुगिसकेको छ ।

योबाहेक पनि बैंकको ब्याजदर उच्च छ । आर्थिक संकटका कारण आमउपभोक्ताको किन्ने क्षमता पनि घटेको छ । त्यो अवस्थामा ब्याजदर उच्च हुँदा व्यापार–व्यवसायको खर्च बढेको छ । तर, आमउपभोक्ताको क्रयशक्तिमा कमी आउँदा व्यवसाय पनि संकुचनको मारमा परेको छ । यसैगरी, निर्यात पनि २९.०७ प्रतिशत घटेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध भएका विभिन्न आन्दोलनले थप संकट ल्याउने सम्भावनालाई सामान्य अवस्थामा लैजान अर्थमन्त्री डा. महतलाई चुनौती हुने विज्ञहरू बताउँछन् ।

फाइल तश्वीर

अहिले राजस्व संकलन घटेको मात्रै नभई बजेटसमेत खर्बाैँ रुपैयाँले घाटामा छ । चालू आव ०७९/८० को चैत १६ गतेसम्म आउँदा सरकारको बजेट एक खर्ब ८० अर्ब ५५ करोड रुपैयाँले घाटामा छ । यस अवधिमा सरकारको खर्च आठ खर्ब ३३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । तर, आम्दानी भने ६ खर्ब ५३ अर्ब दुई करोड पाँच लाख रुपैयाँ मात्रै छ । अहिले सरकारको आम्दानीले चालू खर्च पनि धान्न धौधौ भएको छ, सर्वप्रथम यही समस्या नै अर्थमन्त्री डा. महतलाई मुख्य चुनौती हुने अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् । ‘यस्ता समस्याका कारण अर्थतन्त्र ट्र्याकभन्दा बाहिर जान लागेको छ,’ उनले भने, ‘तसर्थ, अर्थतन्त्रलाई सही गतिमा अगाडि बढाउने गरी नवनियुक्त अर्थमन्त्रीले काम गर्नुपर्नेछ । जसका लागि स्रोत व्यवस्थापनमा अग्रसर भइहाल्नुपर्छ ।’

स्रोत बढाउन सरकारको बक्यौता र बेरुजु असुल गर्ने कार्यलाई जोड दिनुपर्ने उनको भनाइ छ । ‘साथै, राजस्व अनुसन्धानको कामलाई तीव्र बनाउनुपर्छ, त्यसो गरेमा राजस्व संकलन बढ्न सक्छ,’ उनले भने, ‘प्रतिबद्धता भएका वैदेशिक ऋण तथा अनुदान प्राप्तिका लागि भएका समस्यालाई पनि हटाउने गरी काम गर्नुपर्छ । त्यसपछि थप वैदेशिक ऋण तथा अनुदान ल्याउन पनि जोड गर्नुपर्छ ।’

‘मुख्यतः उच्च ब्याजदर, महँगीलगायतका कारण नै राजस्व संकलनमा कमी आएको छ । तसर्थ, अब यस्ता परिस्थितिलाई  समाधान गर्ने, यसको प्रभावलाई न्यूनीकरण गर्ने नीति नवनियुक्त अर्थमन्त्रीले ल्याउनुपर्नेछ,’ डा. अधिकारीले भने, ‘त्यसका लागि आमजनता र सबै क्षेत्रको आम्दानी बढाउने नीति ल्याउनुपर्छ ।’ यस्तै, अब उत्पादनशील क्षेत्रलाई पनि उत्तिकै जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ । नेपालमा तत्काल उत्पादन गर्न सकिने वस्तुको उत्पादनमा जोड दिनुपर्ने उनीहरूको भनाइ छ । कृषि, पशुपालन, वन तथा खनिजसँग जोडिएका उत्पादन तत्काल गर्न सकिने हुनाले तत्काल उत्पादन बढाउने गरी नीति ल्याउनुपर्ने विज्ञहरूको सुझाव छ  ।-नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया