जेठ २०, २०८० शनिबार June 3, 2023

अर्थतन्त्रको नायक बन्ने कि खलनायक ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः  ठूलो रस्साकस्सी र लामो राजनीतिक दाउपेजबीच देशले नयाँ अर्थमन्त्री प्राप्त गरेको छ । सत्ताको मुख्य घटक नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत शुक्रबार अर्थमन्त्रीमा नियुक्त हुनुभयो ।

आर्थिक दुर्घटनाको किनारामा देश पुगेका बेला डा. महतले अर्थतन्त्रलाई हाँक्ने जिम्मेवारी प्राप्त गर्नुभएको छ । उहाँलाई पार्टीभित्र आफ्नो योजना कार्यान्वयन गर्न जति सहज छ, त्यति सहज अर्थतन्त्रलाई हाँक्न भने छैन । यसअघि दुईपटक परराष्ट्र र एकपटक ऊर्जा मन्त्रालय सम्हाल्दा तथा राष्ट्रिय योजना आयोगको सदस्य एवम् प्रधानमन्त्रीको सल्लाहकारका रूपमा काम गर्दा डा. महतको ‘ट्र्याक रिपोर्ट’ सम्झन लायक छैन ।

परराष्ट्र र ऊर्जा मन्त्रालयको ‘ट्र्याक रिपोर्ट’का आधारमा डा. महतबाट धेरै ठूलो अपेक्षा गर्न सकिँदैन । तर, उहाँले अध्ययन गरेको विषयसँग सम्बन्धित मन्त्रालय र उहाँ आफैंका लागि पनि यो अवसर राजनीतिक रूपमा ‘टर्निङ प्वान्ट’ हुने भएकाले चुनौतीपूर्ण परिस्थितिमा आपत्कालीन अवतरणको पर्खाइमा रहेको देशको अर्थतन्त्रलाई सुरक्षित अवतरण गराउनु हुनेछ भन्ने आशा भने गर्न सकिन्छ ।

पार्टी र सरकारको नेतृत्वलाई आफू अनुकूल परिचालन गर्न सक्ने हैसियत राख्ने डा. महत प्रशासनिक संयन्त्र र निजी क्षेत्रलाई आफ्नो पक्षमा प्रयोग गर्ने ल्याकत राख्नुहुन्छ । पार्टीभित्रको एउटा समूहका अरुचिका पात्र भए पनि पार्टी नेतृत्वको प्रियपात्र भएकाले उहाँका नीति योजना र कार्यक्रमप्रति पार्टी नेतृत्वको समर्थन रहने देखिन्छ । तर, राज्यको ढुकुटी बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्ने उहाँका दाजु पूर्वअर्थमन्त्री डा. रामशरण महतको विचारलाई उहाँले अंगिकार गर्नुहुन्छ कि नेताको ढुकुटी बलियो बनाउन उहाँको भूमिका छ भन्ने आक्षेपलाई प्रमाणित गर्नुहुन्छ ? त्यो अर्थमन्त्रीको हैसियतमा उहाँले भोलिका दिनमा लिने नीति र कार्यक्रमले पुष्टि गर्नेछ ।नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया