चैत्र १५, २०८० बिहिबार March 28, 2024

नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज : प्रधानमन्त्री

प्रस्तुत दस्ताबेजमा कार्यान्वयनयोग्य विषयलाई उच्च प्राथमिकता दिइएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौतीको सामना गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको बताउनुभएको छ ।

यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस भएको आर्थिक वर्ष २०८०/८१ का लागि नेपाल सरकारको नीति कार्यक्रममाथिको छलफलमा सदस्यहरूले उठाउनुभएको प्रश्नको जवाफमा उहाँले नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेजका रूपमा रहेकाले युगान्तकारी दिशामा अगाडि बढ्ने सन्दर्भमा कोसेढुङ्गा सावित हुने बताउनुभयो ।

“यो नीति कार्यक्रम सबैको राष्ट्रिय सहमतिको दस्ताबेज बन्न गएको छ”, उहाँले भन्नुभयो, “हिजो प्रतिपक्ष र सत्तापक्षमा रहेकाको तथा आज सत्तापक्ष र प्रतिपक्षमा रहेकाको विचार, धारणा, सैद्धान्तिक प्रतिबद्धता र साझा न्यूनतम कार्यक्रम यसमा समेटिएका छन् ।”

प्रधानमन्त्री दाहालले गणतन्त्र, समाजवाद उन्मुख अर्थतन्त्र र समावेशी शासन प्रणाली संस्थागत गर्ने ध्येयका साथ प्रस्तुत नीति कार्यक्रम गन्तव्यहीन छ भन्नु बिल्कुल तर्क सङ्गत नरहेको बताउनुभयो । “नीति तथा कार्यक्रमको गन्तव्य प्रष्ट छ, सरकारका प्रमुख नीतिगत प्राथमिकताका विषयलाई समेटिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले नीति कार्यक्रममा दीर्घकालीन सोच मात्र नभई त्यसलाई व्यवहारमा उतार्न अवलम्बन गरिने प्रमुख प्राथमिकता र रणनीति पनि स्पष्टसँग परिभाषित गरिएको बताउनुभयो । विभिन्न आन्तरिक तथा बाह्य कारणले अर्थतन्त्र विविध चुनौतीको बीचबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले धरै महत्त्वाकाङ्क्षी भएर नीति कार्यक्रम ल्याउनु व्यावहारिक नहुने बताउनुभयो ।

प्रस्तुत दस्ताबेजमा कार्यान्वयनयोग्य विषयलाई उच्च प्राथमिकता दिइएको प्रधानमन्त्रीको भनाइ छ । आगामी आर्थिक वर्षमा गर्न सकिने कुरालाई आधार बनाएर नीति कार्यक्रम तयार गरिएको उहाँको प्रस्टोक्ति थियो ।

“नीति तथा कार्यक्रम कल्पनाको ‘पुलिन्दा’ होइन, कार्यान्वयनयोग्य र प्राथमिकता दिइएका विषयको सूची र संहिता पनि हो । यसको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्ण प्रतिबद्ध छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । नीति तथा कार्यक्रममा आर्थिक सामाजिक रूपान्तरणका नवीन सोच र कार्यक्रम समेटिएको जनाउँदै प्रधानमन्त्री दाहालले विगतका राम्रा कामलाई निरन्तरता दिइएको बताउनुभयो ।

उहाँले मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको विकासका लागि बजेट विनियोजनका क्रममा उच्च प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुशासनको पक्षलाई दृढताका साथ अगाडि बढाइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा विद्यमान सबैखाले विकृति र विसङ्गतिको अन्त्यका लागि गम्भीर रूपले दृढ इच्छाका साथ अगाडि बढको बताउनुभयो ।

कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो भन्नेमा सरकार प्रष्ट रहेको जनाउँदै उहाँले उपलब्ध कागजात र दस्ताबेजका आधारमा कूटनीतिक माध्यमबाट यस विषयलाई सम्बोधन गरिने बताउनुभयो ।

सङ्घ, प्रदेश र स्थानीय तहलाई समन्वय र सुदृढ गर्दै लगिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले लोकतन्त्र र सुशासनको अनुभूति तल्लो तहसम्म पु¥याउने बताउनुभयो । बजेट खर्चको दोहोरोपनलाई अन्त्य गर्न नीतिगत र कानूनी व्यवस्था गरिने उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “प्रस्तुत नीति तथा कार्यक्रममा सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई परिपूरक र सुदृढ बनाउँदै सङ्घीयता कार्यान्वयनमार्फत लोकतन्त्रको सुदृढीकरण, समावेशीकरण, सामाजिक सुरक्षा, लोककल्याणकारी कार्यलाई स्थानीय तहसम्म पुर्‍याई राज्य संयन्त्रमा सबै नागरिकको समान सहज पहुँच पुर्‍याउने नीति लिइएको छ ।”

उहाँले तीन तहमा रहेको कामको दोहोरोपन र अधिकारको प्रयोगमा रहेको द्विविधालाई सम्बोधन गर्न आवश्यक नीतिगत र कानूनी सुधार गरिने बताउनुभयो । प्रधानमन्त्री दाहालले यस सम्बन्धमा संविधान तथा कानुनमा भएका तर निष्क्रिय रहेका विभिन्न संरचनालाई क्रियाशील तुल्याइने बताउनुभयो ।

वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउँदै, वित्तीय हस्तान्तरणलाई कार्यसम्पादनसँग आबद्ध गर्ने विषय पनि कार्यक्रममा समेटिएको उहाँको भनाइ छ । अर्थतन्त्रका विभिन्न चुनौतीलाई सम्बोधन गर्न आर्थिक पुनःउत्थान र पुनः सबलीकरणका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पुनः संरचनालाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।

“कृषि, उद्योग तथा सेवा क्षेत्रलाई सन्तुलित तवरले अगाडि बढाउने विषयलाई जोड दिइएको छ, उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा रोजगारी सिर्जना गरी स्वावलम्बी अर्थतन्त्र निर्माण गर्ने सोच नीति कार्यक्रमको आत्मा हो”, उहाँले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार