वैशाख १२, २०८१ बुधबार April 24, 2024

गणतन्त्र दिवसको अवसरमा उपराष्ट्रपति यादवको शुभकामना सन्देश

“यो व्यवस्थाप्रति जनताको विश्वास जगाउन हामीले असल काम, सुशासन, रोजगारीका अवसर र मुलुकलाई समुन्नत बनाउने मार्गचित्रका साथ अघि बढ्नै पर्दछ”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको आहुति दिने अमर सहिदहरूप्रति हार्दिक भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

उहाँले सन्देशमा भन्नुभएको छ, “ऐतिहासिक जनआन्दोलन, सशस्त्र आन्दोलन, मधेस जनविद्रोह, आदिवासी, जनजाति र विभिन्न जनसमुदायको अधिकार प्राप्तिको सङ्घर्षहरूमा सहभागी भई घाइते र अङ्गभङ्ग भएका सबैप्रति उच्च सम्मान र आभार प्रकट गर्दछु । साथै, यी आन्दोलन र सङ्घर्षहरूको अगुवाइ गर्ने अग्रज नेताहरू, जनसमुदाय, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको उच्च सम्मानसहित उच्च प्रशंसा गर्दछु ।”

उहाँले नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता र कानूनी राज्यलाई अङ्गीकार गरेको बताउनुभएको छ । यसैका आधारमा नेपालको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, शासन र प्रशासनमा सिङ्गो मुलुकभित्रको बहुरूप र विविधता झल्किने प्रारूप एउटा साझा चौतारी र फूलबारी झँै देख्न सकिरहेको सन्देशमा उल्लेख छ ।

उहाँले यसलाई थप परिष्कृत, सु–संस्कृत, मर्यादित, रूपान्तरित र व्यवस्थित गर्नुपर्ने कर्तव्य, दायित्व र जिम्मेवारी हामी सबैको काँधमा आइपरेको स्मरण गराउनुभयो । “विविधतामा एकता हाम्रो मौलिक राष्ट्रिय पहिचान हो ।

गणतन्त्र दिवसलाई सबैले देशको संविधानको सुरक्षासँगै गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशिता, समानता, समाजवाद तथा मुलुकको समरसता एवं शान्ति र विकासका लागि प्रतिज्ञा र प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा लिनुपर्दछ”, उहाँले भन्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “हाम्रो गणतान्त्रिक संवैधानिक व्यवस्था प्रणालीले बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण मात्र गरेको छैन, सबै क्षेत्र, भूगोल, सम्प्रदाय, धर्म, संस्कृतिलाई जोड्ने काम पनि गरेको छ ।

पूर्व–पश्चिम, मधेस, पहाड र हिमाललाई एकताको सूत्रमा बाँध्ने काम पनि यसले गरेको छ । यसभित्र सङ्घीयता, समावेशिता र समानतामार्फत सबै क्षेत्र, भूगोल र तप्काले आ–आफ्नो अधिकारको उपयोग गर्दै नेतृत्व र प्रतिनिधित्व गर्न सफल भएकामा म खुसी व्यक्त गर्न चाहन्छु । ”

उपराष्ट्रपति यादवले कमीकमजोरीहरूलाई सच्याउँदै प्रगति पथमा निरन्तर लम्कन र अग्रगमन उन्मुख हुनु निर्विकल्प रहेकोमा जोड दिनुभएको छ । लोकतान्त्रिक गणतन्त्र भनेकै जनताको सामूहिक भावनाको सम्मान र कदर गरी राष्ट्रलाई समुन्नतिको मार्गमा अघि बढाउने उत्कृष्ट व्यवस्था भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभएको छ, “यो व्यवस्थाप्रति जनताको विश्वास जगाउन हामीले असल काम, सुशासन, रोजगारीका अवसर र मुलुकलाई समुन्नत बनाउने मार्गचित्रका साथ अघि बढ्नै पर्दछ ।”

उहाँले गणतन्त्र दिवसले सामाजिक न्याय र सामाजिक रूपान्तरणमा तुलनात्मकरूपमा कमजोर देखिएका र पछि परेकाहरूलाई माथि उकास्ने प्रतिबद्धताका साथ मुलुकको भौगोलिक अखण्डता, स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई थप सुदृढ गर्दै समृद्धिको मार्गमा अग्रसर हुन सबैलाई उत्प्रेरित गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया