वैशाख १३, २०८१ बिहिबार April 25, 2024

चारदिने भ्रमणका लागि प्रधानमन्त्री आज भारत जाँदै

प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि आज (बुधबार) नयाँदिल्ली जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भ्रमणमा जान लाग्नुभएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणमा टोलीको टुंगो लगाएको छ । प्रधानमन्त्री प्रचण्डसँग भ्रमणमा नेपाल सरकारका पाँचजना मन्त्री, सचिव र वरिष्ठ अधिकारीसहित झण्डै ६० जनाभन्दा रहने बताइएको छ ।

शनिबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको थियो । भारत भ्रमणको तालिकाअनुसार प्रधानमन्त्री प्रचण्डको भ्रमण चार दिन (जेठ १७ देखि २० गतेसम्म) हुनेछ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधि मण्डलसँग हैदरावाद हाउसमा भेटवार्ता गर्नुहुने छ ।

वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उहाँको प्रतिनिधि मण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्नुहुने छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ (फएनसिसिआई) र भारतीय उद्योग परिसंघ (सिआइआई) ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने छ । यसैगरी, प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नुहुने छ । प्रधानमन्त्री प्रचण्ड जेठ २० गते काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोसरोवरको पनि भ्रमण गर्ने कार्यक्रम छ । हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया