काठमाण्डाैंः कोरोना लागेर अमेरिकामा ९७ हजार ६ सय ४७ मानिसले ज्यान गुमाइसक्दा पनि नेपालबाट अमेरिका जानेको ताँती रोकिएको छैन । अचम्म के छ भने, कोरोना संक्रमणबाट विशेषतः बृद्ध-बृद्धा बढी प्रभावित हुने तथ्यांक छ । तर, नेपालबाट ५०-६० नाघेका मानिसहरु अमेरिका जाने थुप्रै छन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासको आग्रहमा प्रेसिडेन्ट ट्राभलले भोलि आइतबार ३ सय २० जनालाई अमेरिका उडाउँदैछ । त्यस्तो उडान गर्नुपूर्व भीसा लागेर काठमाडौंमै अड्किरहेका यात्रुका नाममा ट्राभलले सूचना जारी गर्यो, ‘जान चाहनेले ईफर्ममार्फत सूचित गराउनुहोला’ भनेर । यसक्रममा हजारौँ नेपालीले त्यस्तो फर्म भरे ।
कतिपय यात्रु अमेरिकी दूतावासमार्फत जहाज आउने र लैजाने कुरा चाल पाएर ताँती लागे । त्यसपछि दूतावासले प्राथमिकता क्रम तोकेर मापदण्ड बनायो । मापदण्डअनुसार, पहिलो प्राथमिकतामा अमेरिकी नागरिक, दोस्रोमा त्यहाँको आप्रवासन सुविधा (ग्रीनकार्ड) प्राप्त व्यक्ति र तेस्रोमा मात्र भिसा लागेका आमनागरिक परेका छन् । यस्तो गर्दा पनि अमेरिकी नागरिक र ग्रीन कार्ड पाएका मानिसको संख्या ३ सय २० पुगेन । त्यसपछि पालो आयो, भिसा लागेका आम नागरिकको । संकटको बेला आयआर्जन गर्न नखोज्ने त को होलान् र ?
कल्पना ढकाल नामकी यात्रु आफूलाई ट्राभलले आश्वासन दिएर पनि अमेरिका उडाउन नचाहेको भन्दै दूतावासमा उजुर गर्न पुगिन् । दूतावासले भन्यो, ‘तपाईं प्रशासनिक समाधान खोज्नुस् ।’ ढकाल पुगिन्, प्रहरी हेडक्वार्टरमा । हेडक्वार्टरले प्रेसिडेन्ट ट्राभलकी एकजना टिकट अफिसरलाई सोध्यो । जवाफ दिइन्, ‘हामीले एयरक्राफ्ट मात्र व्यवस्थापन गरेका हौँ, को-को लैजानेचाहिँ दूतावासले टुंगो लगाउने हो ।’
ती पीडितका अनुसार, फर्म भरेर पनि जान नपाएका पीडितहरु जिल्ला प्रशासनमा उजुर गर्न पुगे तर मूलगेटबाटै फर्काइयो । भनियो, ‘कर्मचारीहरु कोही हुनुुहुन्न, पासबाहेक अरु कुनै काम लिएर नआउनु होला ।’‘हामीसँग उजुर गर्ने र छानवीन गरियोस् भन्ने ठाउँ पनि भएन’, ती पीडितले सुनाए । यसबारे बुझ्न जनआस्थाले प्रेसिडेन्ट ट्राभलसँग सम्पर्क गर्न खोज्दा कोही पनि सम्पर्कमा आएनन् । जनआस्थाबाट साभार ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया