काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ। बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।
दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन्। प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थीसमेत एसइईमा सहभागी थिए ।
विसं २०७२ को प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अङ्क ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ ।
विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ। नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ। यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।
यसरी हेर्न सकिन्छ नतिजा :
एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। यसका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने उनले बताए ।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ। त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उनले बताए। एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ ।
नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया