काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघ (यूएन) को महासभामा आफूले गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘मुलुकको समृद्धिः सम्भावना र चुनौति’ विषयक कार्यक्रममा उनले नेपाल अति कम विकसित राष्ट्रको अध्यक्ष राष्ट्र भएको उल्लेख गर्दै त्यसको पक्षमा नयाँ भिजन दिने गरी यूएन महासभामा प्रस्तुत हुने बताए ।
‘अति कम विकसित राष्ट्रको अध्यक्ष छौँ । गरिबको नेता छ यतिबेला नेपाल । त्यो हैसियतले गरिब देशहरूको तर्फबाट पनि हामीले केही कुरा भन्नु छ । केही नयाँ भिजन दिनुछ,’ प्रचण्डले भने ।
महासभामा आफूले जलवायु परिवर्तनका कारण गरिब मुलुकहरूले भोग्नुपरेको समस्याबारे पनि जोड दिएर धारणा राख्ने प्रचण्डको भनाइ छ । ‘हिमाल सेतोबाट कालो हुँदै गएका छन् । र, यसले दक्षिण एसियामा मात्रै होइन, ग्लोबलमा नै यसले निकै ठूलो नकारात्मक प्रभाव पारेको कुरालाई जोड दिएर उठाउने सोचेको छु,’ प्रचण्डले भने ।
आफ्नो चीन भ्रमणमा कृषि, पूर्वाधार र विद्युतका लागि ट्रान्समिसन लाइन निर्माणमा बढी जोड दिएर छलफल गर्ने प्रचण्डको भनाइ छ । सरकारले उत्पादन वृद्धि र रोजगारीको अवसर सृजना गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै प्रचण्डले जनतामा निराशा बाँड्ने काम नगर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया