असोज ६, २०८० शनिबार September 23, 2023

सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको ज्यान गयो

भालुको आक्रमणबाट टाउको, पेट, छाति लगायतको भागमा गम्भीर चोट लागेका शेर्पाको स्थानिय अस्पतालमा उपचारका क्रममा मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय अन्दाजी ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

शनिवार दिउँसो अन्दाजी २ बजे मकै बारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट टाउको, पेट, छाति लगायतको भागमा गम्भीर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बुङमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते अवस्थामा स्थानीयले उद्वार गरेर अस्पताल पुर्‍याउने बित्तिकै शेर्पाको ज्यान गएको बताइएको छ । भालुको आक्रमणमा परेका शेर्पाको आन्द्रा नै बाहिर निस्किएको प्रत्यक्षदर्शी सुन्दर कुलुङले बताउनुभयो ।

स्थानीयका अनुसार गएराति भालुले मकैबालीमा क्षति पुर्‍याएको थियो । मकैको ढोर उठाउन जाने क्रममा बारीमै बसेको भालुले शेर्पालाई दिउँसै आक्रमण गरेको बताइएको छ ।

शेर्पाको शव अहिले महाकुलुङ प्राथमिक अस्पताल बुङमै राखिएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया