असोज १९, २०८१ शनिबार October 5, 2024

देउवा-कोइरालाबीच चर्काचर्की

पार्टीका विषय र सरकारका मुद्दामा देउवाले न्यायोचित काम नगरेको भन्दै कोइरालाको आक्रोश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकार र पार्टीका मुद्दामा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच बुधबार चर्काचर्की परेको छ । संस्थापनइतर पक्षको मंगलबारको बैठकको निष्कर्ष सुनाउन उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारका साथ कोइराला देउवालाई भेट्न धुम्बाराहीस्थित निवास पुगेका थिए ।

केहीछिन सौहार्दपूर्ण वार्ता भए पनि उनका कमीकमजोरीमाथि बुँदागत छलफल हुँदा देउवाले बीच–बीचमा जंगिँदै प्रतिवाद गरेका थिए । कोइरालाले संघ र प्रदेश सरकार निर्माणमा परामर्श नभएको, तल्लो तहमा चुनाव हारेका र भ्रातृसंस्थाबाट प्रतिनिधित्व गर्नेलाई केन्द्रीय सदस्य मनोनयन गर्न नपाइने विधानको व्यवस्था उल्लंघन भएको, विधान बमोजिम ६ महिनाभित्र विभाग गठन गर्न नसकेको बताएका थिए ।

अनुशासन कारबाही फुकुवामा दोहारो मापदण्ड अपनाइएको, भ्रातृसंस्थाको नेतृत्वमा एकलौटी गर्नुका साथै भद्दा समिति बनाइएको, भ्रष्टाचार छानबिनमा पार्टीले स्वामित्व नलिएको, नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई सरुवा गर्न दबाब दिएको भन्दै कोइरालाले देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।

‘तपाईंले एकपछि अर्को विधानविपरीतका काम गर्दै आउनुभएको छ । न पार्टीभित्र छलफल हुन्छ, न हामीसँग परामर्श हुन्छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै सहमहामन्त्री परियारले भने, ‘तपाईंको निर्णयले पार्टीभित्र सबैलाई न्याय हुन सकेको छैन । राष्ट्रिय राजनीति र सरकारका काममा पनि तपाईंको भूमिकाले कांग्रेसलाई नै हानी पुगिरहेको छ ।’ कोइरालाले कोशी प्रदेशमा संविधानविपरित सभामुखलाई भोट हाल्न लगाएर पार्टीको मूल्य मान्यतामा क्षति पुर्‍याउने काम भएको बताएका थिए । उनले सरकारको काम प्रभावकारी नभएकामा पनि गुनासो गरेका थिए । केही दिनअघिदेखि सरकारको कामलाई लिएर कोइरालाले नेतृत्व बदल्ने मुद्दा अघि सारिरहेका छन् । तर, बुधबारको भेटमा उनले सरकारको नेतृत्वको विषयमा भने कुरा उठाएनन् ।

संघ, प्रदेशमा मन्त्री र संसद्को समितिमा सभापति चयन गर्दा न्यायोचित भएको भन्दै कोइरालाले आक्रोश पोखेका थिए । यस्ता विषयमा कुरा उठाउँदाउठाउँदै वाक्क भइसकेको भन्दै उनले देउवालाई ‘तपाँईबाट सच्चिने कुनै संकेत मिलेन’ भनेका थिए । ‘तपाँईलाई बारम्बार सच्चिएर अघि बढ्नुहोस् भन्दै आएँ तर सच्चिनुभएन । नसच्चिने हो भने जे गर्न म लाग्छ त्यही गर्नुहोस्, मलाई तपाईसँग सहकार्य गर्नु छैन,’ कोइरालाको भनाइ थियो, ‘अब तपाईंलाई केही भन्दिनँ, भेट्दा पनि भेट्दिनँ ।’ देउवाले ठट्यौली शैलीमा ‘तपार्इं नआए पनि म आफैं भेट्न आउँछु’ भन्दै सल्लाह र परामर्शबाटै काम भएको बताएका थिए ।

नेता कोइरालाले सरकार र मन्त्रीहरूको चयनमा छलफल नगरिएको गुनासोसमेत गरेका थिए । कोशी सरकार गठनमा पार्टीले लिएको बाटो गलत रहेको र त्यसबाट कांग्रेसकै बदनाम भएको उनको भनाइ थियो ।

अघिल्लो दिनको बैठकमा सहभागी सदस्यहरूले पार्टी र सरकारमा सभापति देउवाको मनोमानी बढ्नुको पछाडि प्रतिपक्ष खेमा कमजोर हुनुलाई मुख्य कारण ठहर्‍याएका थिए । कुनै गुटमा नभएका महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत जोडेर इतरपक्षलाई गोलबन्द गर्नुपर्ने दबाव कोइरालामाथि थियो । आफ्नै समूहका सदस्यहरूले दबाब दिएपछि कोइरालाले मंगलबारको बैठकमा महामन्त्री शर्मा र पौडेललाई आमन्त्रण गरेका थिए । कोइरालाप्रति अविश्वास प्रकट गर्दै शर्मा बैठकमा सहभागी नभएको उनी निकट सदस्यहरूले बताउँदै आएका छन् । पौडेल भने त्यसै दिन चीन प्रस्थान गरेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक अगावै सभापतिको कार्यशैली, निर्णय प्रक्रियामा भएका त्रुटि र विधानविपरितका कामका बिषयलाई प्रमुखताका साथ उठाइएको सहमहामन्त्री परियारले बताए । सभापतिले साउन १० गतेको निर्णयलाई समेत कार्यन्वयन नगरेको भन्दै इतरपक्षले असन्तुष्टि जनाउँदै आएको छ । पार्टी चलायमान बनाउन भदौ १५ भित्रै प्रस्तावित २२ सहित ७० वटा विभाग गठन गर्ने निर्णय त्यतिबेला भएको थियो । देउवाले यसबीचमा १६ वटा विभागको प्रमुख मात्रै तोकेका छन् । विधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्छ । महाधिवेशन सकिएको २० महिनामा केन्द्रीय सदस्य मीन विश्वकर्मा प्रमुख रहेको प्रचार विभागबाहेक कांग्रेसमा कुनै पनि विभाग क्रियाशील हुन सकेका छैनन् । ७० विभागमा ५३ विभाग प्रमुखसमेत तोकिएको छैन ।

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको नीति तथा प्रशिक्षण प्रतिष्ठानले समेत पूर्णता पाएको छैन । देउवाले भदौ १४ मा १६ विभागमा प्रमुख तोके पनि सदस्यहरू मनोनयन गरेका छैनन् । एउटा विभागमा ५१ जना सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ । सबै विभागले पूर्णता पाउँदा झन्डै ४ हजार नेता तथा कार्यकर्ताले काम पाउँछन् । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया