काठमाण्डौंः नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइट मार्फत ग्राहकले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीले सजिलै गाडी भाडामा दिन सक्ने बताएको छ।
सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकलाई सफा, स्वच्छ र आरामदायी कार, जीप, हायस, कोस्टर तथा पर्यटकीय बसहरू सजिलो गरी उपलब्ध गराउँदै आएको जनाएको छ। यसै क्रममा ग्राहकले नजिकिँदै गरेको दशैंमा सजिलो रेन्टरलबाट पनि सेवा लिन र दिन सकिने कम्पनीले जनाएको छ।
परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानुपर्यो भने गाडी रिजर्भका लागि द्विविधामा परी अलमल हुन्छन्, मानिसले भोग्ने यस्तै समस्या समाधानका लागि सजिलो रेन्टलको विकास गरेको कम्पनीका संस्थापक दामोदर फुयाँल (प्रज्वल) ले बताए।
सजिलो रेन्टलले नेपालमा बस्ने मानिसलाई मात्रै नभई विदेशबाट नेपाल फर्किने तयारीमा रहेकाहरूलाई पनि सेवा दिने कम्प्पनीले जनाएको छ। कम्पनीले नेपालका सातै प्रदेशका प्रमुख सहरहरू पोखरा, चितवन, बुटवल, धनगढी, नेपालगञ्ज, इटहरी, बिर्तामोड र काठमाडौंमा सेवा प्रदान गर्दै आइरहेको छ।
सजिलो रेन्टलका ग्राहकले परम्परागत शैलीमा गाडी मिलाइ दिने ब्रोकरलाई अनावश्यक रकम भुक्तानी गर्नु पर्दैन भने वित्तीय पारदर्शिता पनि प्रवद्र्धन गर्ने योजना रहेको व्यवस्थापक जनार्दन गौतमले बताए। पछिल्लो समय कम्पनीले ‘कारपुल’ को समेत व्यवस्था गरेको छ।
यसरी लिन सकिन्छ कारपुल सेवा
सजिलो रेन्टल एप डाउनलोड गरेपछि त्यहाँ कारपुलको अप्सन आउँछ। त्यही अप्सनमा क्लिक गरेर आफू चालक हो वा यात्री भन्ने पहिचान गराउनुपर्छ। यदि चालक हो भने आफू जाने गन्तव्य र कति सिट खाली छ भनेर राख्न सकिन्छ र यात्रु हो भने त्यहाँ राखिएका सिट संख्या र गन्तव्य हेरेर पहिचान गर्नुपर्छ।
लाने र जाने दुवैले त्यहाँ मोबाइल नम्बर राख्नुपर्छ। जसले जाने र लाने दुवैलाई सहजीकरणका लागि सुविधा पुग्छ। भाडा लिने/नलिने र कति लिने भन्ने टुंगो भने आपसी सम्झदारीमा हुनेछ। यो सुविधा गाडी, मोटरसाइकल सहित सबैमा लागू गर्न सकिने जनाएको छ।
यो सुविधा प्रयोग गर्दा यात्रुले कम्पनीलाई कुनै शुल्क बुझाउन पर्दैन। कारपुलको मुख्य फाइदा निरन्तर यात्रा गरिरहने यात्रुलाई हुन्छ। यो सेवा लिँदा यात्रा गरिराख्ने यात्रुले बजारमा गएर गाडी छान्नुपर्ने तथा गाडी समयमा नआउँदा पर्ने मानसिक तनाव पनि बेहोर्नु नपर्ने हुन्छ।
सञ्चालनमा आएको डेढ वर्षमा कम्पनीले नेपालभरि करिब तीन हजार गाडीहरूबाट सेवा प्रदान गरिरहेको जनाएको छ। विश्व प्रविधिमैत्री भइरहँदा सहज तरिकाबाट गाडी भाडामा लिने र दिने प्रवृत्तिको विकासका लागि सजिलो रेन्टल मोबाइल एप सञ्चालनमा आएको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया