श्रावण ४, २०८२ आइतबार July 20, 2025

पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गर्न माग

नेवारी संस्कृतिबारे ज्ञान नयाँ पुस्ताले विद्यालय तहबाटै थाहा पाउन जरुरी भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा बसोबास गर्दै आएको नेवार समुदायले स्थानीय पाठ्यक्रममा आफ्नो कला र संस्कृति समावेश गर्न माग गरेको छ ।

नगरपालिकाको कूल जनसङ्ख्याको करिब २० प्रतिशत नेवारी समुदायको रहेकाले स्थानीय पाठ्यक्रममा नेवारी कला र संस्कृति समावेश गर्न उनीहरुले माग गरेका हुन् ।

नगरपालिकाले कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । तर त्यसमा नेवारी कला र संस्कृति समावेश नगरिएको नेवाः पुचः गैँडाकोटका सल्लाहकार अमृत श्रेष्ठले बताउनुभयो ।

“प्राथमिक तहको शिक्षा मातृभाषामा पढ्न पाउने गरी सरकारले ऐन बनाएको छ । तर, गैँडाकोटमा १० हजारभन्दा बढी जनसङ्ख्या रहेको नेवार समुदायको कला र संस्कृति समावेश गरिएको छैन” उहाँले भन्नुभयो ।

नेवारी संस्कृतिबारे ज्ञान नयाँ पुस्ताले विद्यालय तहबाटै थाहा पाउन जरुरी भएकाले स्थानीय पाठ्यक्रममा नेवारी संस्कृति झल्किने विषयवस्तु समावेश हुनुपर्ने नेवाः पुचः गैँडाकोटका अध्यक्ष भोजराज श्रेष्ठको भनाइ छ ।

नेवार समुदायले मुख्यगरी नेपाल संवत्, महः पूजा, रोपाइँ जात्रा, बेल विवाह, यमोरी पुन्ही, लाखे जात्रा, गाई जात्रा, बाघ जात्रालगायत मनाउने गरेका छन् ।

“ठाउँ अनुसार नेवार समुदायको कला, संस्कृति र भाषामा विविधता छ” उहाँले भन्नुभयो, “नेवार समुदायले मनाउने कूल पूजाको आधारमा जात्रा र पर्व मनाउने गर्छन् । धेरै पर्व साझा पर्वका रुपमा मनाइन्छन् ।”

नेवारी कला र संस्कृतिलाई पुस्तान्तरण गर्नका लागि पनि नयाँ पुस्तालाई यसबारेमा जानकारी दिन स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

गैँडाकोटका नेवार समुदाय कला र संस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि एकजुट भएर अगाडि बढेका छन् ।

यही कात्तिक २८ गते यस समुदायले गैँडाकोटमा नेपाल सम्वत् ११४४ न्युँ दँया भिन्तुना तथा महः पूजा गर्दैछ । गैँडाकोटको नारायणी नदी किनारमा भेला भएर ¥यालीसहित अमरापुरी पुगेर नेपाल संवत्को कार्यक्रम तथा सोही दिन बेलुकी महः पूजा गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

आफ्नो आत्मा (शरीर)को पूजा गर्ने दिन भएकाले लक्ष्मी पूजाको भोलिपल्ट नेवार समुदायले महः पूजा गर्ने भन्दै उहाँले आत्मा शुद्ध भएपछि मात्रै सबै कुरा शुद्ध र राम्रो हुने बताउनुभयो ।

महः पूजाका लागि ओखर, बिमिरो, मखमलीको फूल, धानको लाभाको माला, जजङ्कार (जनै जस्तै सामग्री) लगायतका सामग्री आवश्यक पर्छ ।

महः पूजामा महिलाको प्रमुख भूमिका हुन्छ । नेवाः मिसा दबुः गैँडाकोट नगर समिति अध्यक्ष एवं गैँडाकोट–२ की महिला वडा सदस्य सीता श्रेष्ठले विगतमा भन्दा अहिले स्थानीय तहले जातजातिको कला र संस्कृतिका लागि बजेट विनियोजन गर्ने गरेको बताउनुभयो ।

स्थानीय तहले कला र संस्कृति संरक्षणमा अभिभावकको भूमिका निर्वाह गर्दै आएको उहाँको भनाइ छ । गैँडाकोट नगरपालिकाको कुल जनसङ्ख्या ५८ हजार छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार