श्रावण ४, २०८२ आइतबार July 20, 2025

शेयर बजार आम्दानी गरेर कलेजको शुल्क तिर्दै विद्यार्थी

व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् ।

“हामीले प्राथमिक बजार (आइपिओ) मा लगानी गर्न सिकेर दोस्रो (सेकेन्डरी) बजारमा पनि लगानी गरेका छौँ,” नेपालगञ्जको अल्पाइन व्यवस्थापन कलेजका स्नातक तहका विद्यार्थी पारश तिमिल्सिनाले भन्नुभयो ।

उहाँले साथीहरू र गुरुको माध्यमबाट शेयर बजारको अध्ययन गरेर बजारको प्राथमिक र सेकेन्डरी बजारमा प्रवेश गरेको उल्लेख गर्दै आफू अहिले पनि नाफामा रहेको बताउनुभयो ।

“आवश्यक खर्च शेयर बजारबाट आएको छ”, तिमिल्सिना भन्नुहुन्छ । रु एक हजार लगानी गरेर शेयर बजारको प्राथमिक बजारमा प्रवेश गर्नुभएका तिमिल्सिनाले घरबाट आउने खाजा खर्च, शुल्कको पैसा र प्राथमिक बजारबाट गरेको आम्दानीको स्रोतको सदुपयोग गरेर अहिले करिब रु दुई लाखको पोर्टफोलियो बनाएको जानकारी दिनुभयो ।

“हाम्रो कलेजका धेरै साथीले शेयर बजारमा लगानी गर्नुभएको छ त्यसमा पनि हाम्रो क्लासका २० प्रतिशत साथीले दोस्रो बजारमा पनि लगानी गर्नुभएको छ”, तिमिल्सिनाले भन्नुभयो । तिमिल्सिना एक वर्षदेखि शेयर बजारको प्राथमिक र दोस्रो बजारको कारोबारी हुनुहुन्छ ।

अर्का लगानीकर्ता विकास भट्टराई विद्यार्थीकालदेखि शेयर बजारमा लगानी गरेर सफल व्यवसायी हुनुभएको छ । दश जोड दुईको अध्ययन गर्दादेखि नै शेयर बजारमा लगानी गर्नुभएका भट्टराईले शेयर बजारमा लगानी गर्न थालेको दश वर्ष बितेको छ ।

व्यवस्थापन सङ्कायमा अध्ययन गर्नुभएका उहाँले शेयर बजारको स्वअध्ययन र अङ्गे्रजसँग सिकेर बजारमा छिरेको बताउनुभयो । “अहिले म शेयर बजारको शिक्षा प्रदान गर्ने ठाउँमा पुगेको छु”, उहाँले भन्नुभयो ।

भरोसा म्यानेजमेन्ट कन्सल्टेसीका प्रमोटरसमेत रहनुभएका भट्टराई स्वअध्ययन गरेर मात्रै छनोट गरिएका कम्पनीमा लगानी गर्न सुझाव दिनुहुन्छ । “जति यसमा रिवार्ड छ, त्यति नै रिस्क पनि छ”, उहाँ भन्नुहुन्छ ।

इम्पेरियल सेक्युरिटिज कम्पनी लि (४५) नं ब्रोकर कार्यालय नेपालगञ्जका प्रमुख उदय अधिकारीले व्यवस्थापन सङ्कायको स्नातकतहका अधिकांश विद्यार्थी शेयर बजारप्रति आकर्षित भएको जानकारी दिँदै उनीहरूले शेयर बजारबाट आएको आम्दानी कलेजको शुल्कलगायत काममा खर्च गरेको बताउनुभयो ।

विद्यार्थीले रु एक सयमा खरिद गरेको शेयर रु दुई सयमा बेचेर पनि नाफा सुरक्षित गरेको उल्लेख गर्दै अधिकारीले वैदेशिक रोजगारमा रहेका र केही गृहिणीले समेत बजारमा लगानी गरेको जानकारी दिनुभयो ।

“विद्यार्थीका लागि शेयर बजार आम्दानीको भरपर्दो स्रोत बनेको छ”, अधिकारीले भन्नुभयो । शेयर बजारमा लगानी गर्न बाँकेबाहेक बर्दिया, सुर्खेत, जाजरकोट, रोल्पा, रुुकुम, हुम्ला, जुम्ला, सल्यानलगायत जिल्ल्लाबाट लगानीकर्ता नेपालगञ्ज आउने गरेका छन् ।

अधिकारीले शेयर बजारको प्राथमिक शेयर धेरै जारी भएकाले पैसा होल्ड भएर त्यसको प्रभाव बजारमा पनि परेको हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालमा जस्तो आइपिओ जारी गर्ने प्रचलन नभएको बताउनुभयो । “बाहिरको बजारमा सबैले यहाँजस्तो आइपिओ हाल्ने चलन छैन र बोनस शेयरको चलन पनि छैन”, उहाँले भन्नुभयो ।

अधिकारीले केही लगानीकर्ताले एकै दिन रु ५० लाखसम्म लगानी गरेको जानकारी दिँदै अहिले औसतमा दैनिक रु एक करोड ४५ लाखको शेयर कारोबार भएको बताउनुभयो ।

करिब ३५ हजार लगानीकर्ता भएको एम्पेरियलमा २७ हजार सक्रिय लगानीकर्ता भएको बताइएको छ । यसबाहेक कालिका सेक्युरिटिज प्रालिले पनि नेपालगञ्जमा शेयर कारोबार गर्दै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार