श्रावण ३, २०८२ शनिबार July 19, 2025

बैतडी जिल्ला अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

अस्पतालको सेवा प्रभावित हुने भएपछि यहाँका बिरामी तथा सेवाग्राहीलाई समेत समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दबाबस्वरुप चिकित्सकहरु आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हुन्।

काम गरेका महिनौँ हुँदा समेत आफूहरूले पारिश्रमिक नपाउँदा बाध्य भएर आन्दोलित हुनुपरेको बैतडी अस्पतालका डा हरिश्चन्द्र विष्टले बताए।

उनले भने, ‘आफूहरु बिरामीको सेवामा अहोरात्र खटिँदासमेत मन्त्रालयले रकम भुक्तानी गरेको छैन।’

विगत नौ महिनादेखि अतिरिक्त भत्ता, सार्वजनिक बिदामा काम गरे बापतको भत्ता र प्रयोगशालामा काम गरेको बापतको जोखिम भत्ताको रकम भुक्तानी नदिएको विरोधमा आन्दोलनरत चिकित्सकले आजदेखि सेवा ठप्प पारेका हुन्। उनीहरुले पाउनुपर्ने भत्ता रकम ९६ घण्टाभित्र भुक्तानी नभएमा आकस्मिकबाहेकका सेवा दिन असमर्थ रहने भन्दै अल्टिमेटम दिएका थिए।

बुधबार दिएको आन्दोलनको ९६ घण्टे अल्टिमेटम शनिबार सकिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई गत पुसदेखि भत्ता रकम निकासाका लागि बारम्बार पत्राचार गर्दा पनि कुनै सुनवाइ नभएको चिकित्सक तथा स्वास्थ्यकर्मीको आरोप छ।

चिकित्सक बाहेक जिल्ला अस्पतालका अन्य कर्मचारीलेसमेत अतिरिक्त सेवा बापतको रकम पाउन नसकेको जिल्ला अस्पताल बैतडीका डा धीरज जैसवालले बताए।

उनले भने, ‘हामीले विगतदेखिनै तलब भुक्तानीका लागि माग गरेका हौँ तर मन्त्रालयले उक्त माग सम्बोधन गरेन। बाध्य भएर आन्दोलनमा उत्रिएकका छौँ।’

आफूहरुको माग पूरा नभएसम्म बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन नगर्ने डा तथा कर्मचारीको अडान छ। जिल्ला अस्पतालका अख्तियार प्राप्त मेडिकल सुपरिडेन्ट र अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोही समस्या समाधानका लागि मन्त्रालयमा धाइरहेको जनाइएको छ। तर बैतडी अस्पतालको समस्या समाधानतर्फ मन्त्रालयको भने ध्यान जान सकेको छैन।

पटक–पटक मन्त्रालयको ध्यानाकर्षण गराउँदासमेत समस्या समाधान नभएकाले आफूहरु धनगढीमै बसिरहेको जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताइन्। डा तथा अस्पतालका कर्मचारीको टोलीले जिल्ला प्रशासन कार्यालयकोसमेत ध्यानाकर्षण गराएका छन्। यसबारेमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नागरिकलाई अप्ठ्यारो हुने काम नगर्न चिकित्सकलाई सुझाएका छन्।

उनले भने, ‘तपाईंहरुका मागको बारेमा सम्बन्धित निकायमा कुरा भइसकेको छ, समस्या समाधान होला, बिरामीलाई मर्का पर्ने काम गर्नुभएन।’

बैतडी जिल्ला अस्पतालमा ११ जना चिकित्सक कार्यरत छन्। स्वास्थ्य सेवा नियमावलीअनुसार सातामा ४० घण्टाभन्दा बढी काम गरेमा र सार्वजनिक बिदामा काम गरेको अवस्थामा अतिरिक्त भत्ता पाउने व्यवस्था छ। मेडिकल अधिकृतको हकमा सम्बन्धितले पाउने मासिक तलबअनुसार ८ घण्टा अतिरिक्त काम गरेमा दैनिक एक हजार छ सय भत्ता दिने व्यवस्था रहेको छ।

निमित्त मेडिकल सुपरिटेन्डेन्ट विष्ट जिम्मेवारीबाट अलग

यसैबीच जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिशचन्द्र विष्टले आफू जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्। चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको आन्दोलनमा समर्थन जनाउँदै भोको पेटमा काम गराउन नसक्ने भन्दै उनले निमित्त मेसुको जिम्मेवारी छोडेका हुन्। जिल्ला अस्पताल बैतडीका मेसु डा सुशील विकले वैशाख २० गते उनलाई निमित्त दिएर जिल्ला बाहिर रहेका छन्।

बैतडी जिल्ला अस्पतालमा एघारजना चिकित्सक कार्यरत छन्। स्वास्थ्य सेवा नियमावलीअनुसार सातामा ४० घण्टाभन्दा बढी काम गरेमा र सार्वजनिक बिदामा काम गरेको अवस्थामा अतिरिक्त भत्ता पाउने व्यवस्था छ।

मेडिकल अधिकृतको हकमा सम्बन्धितले पाउने मासिक तलबअनुसार आठ घण्टा अतिरिक्त काम गरेमा दैनिक एक हजार छ सय भत्ता दिने व्यवस्था रहेको छ। अस्पतालको सेवा प्रभावित हुने भएपछि यहाँका बिरामी तथा सेवाग्राहीलाई समेत समस्या हुने देखिएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार