फागुण ३, २०८१ शनिबार February 15, 2025

सभामुख र युएईका राजदूतबीच शिष्टाचार भेट

एईको संघीय राष्ट्रिय काउन्सिलका सभामुखले निकट भविष्यमा नै नेपाल भ्रमण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सभामुख देवराज घिमिरेसँग संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गरेका छन्।

बुधबार बिहान भएको भेटमा सभामुख घिमिरेले ठूलो संख्यामा नेपाली जनता युएईमा रोजगारीमा रहेकाले रोजगार तथा जीवन सुरक्षालाई विशेष ध्यान दिन अपिल गरेका छन् । युएईमा मात्रै करिब ४ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् ।

उनले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तुष्टि व्यक्त गरे । उनले युएईले‍ स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र नवप्रवर्तन लगायतका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिका लागि बधाई दिए । ‘युएई राज्य स्थापना भएको केही दशकमै गरेको बृहत्तर प्रगति र समृद्धिका लागि युएईको दुरदर्शी नेतृत्वको प्रशंसा गर्दछु,’ उनले भने ।

सभामुखले हालै काठमाडौंमा सम्पन्न तेस्रो नेपाल लगानी शिखर सम्मेलनमा सहभागी भएकोमा युएईलाई धन्यवाद व्यक्त गरे। उनले नेपालबाट अलैंची, चिया लगायतका कृषिजन्य उत्पादन निर्यातको प्रचुर सम्भावना रहेको बताउँदै आवश्यक सहजिकरणको अपिल गरे।

युएईका राजदूत अलसाम्सीले युएईको संघीय राष्ट्रिय काउन्सिलका सभामुखले निकट भविष्यमा नै नेपाल भ्रमण गर्ने जानकारी गराए । उनले गत वर्ष नै भ्रमण तय भए पनि निर्वाचनका कारण भ्रमण पछि सरेको उल्लेख गरे ।

अलसाम्सीले दुई मुलुकबीच भएका सहमति कार्यान्वयन गर्न नेपाल सरकार र संघीय संसदको भूमिका अपेक्षित रहेको बताए । उनले युएई निर्माणका लागि नेपाली नागरिकले दिएको योगदानलाई आफ्नो मुलुकले सदा स्मरण गर्ने समेत उल्लेख गरे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया