काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गति लिन नसकेको बताउनुभएको छ ।
आज ललितपुरको महालक्ष्मी नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले प्रधानमन्त्री एक वर्ष पनि नटिक्ने र एउटा मन्त्रीले छ महिना पनि काम गर्न नपाउने अस्थिर राजनीतिक अवस्थाले देशको प्रगतिमा व्यवधान सिर्जना गरेको धारणा राख्नुभयो ।
“छिमेकी देश भारतमा नरेन्द्र मोदी र चीनमा सी जिनपिङ तीन कार्यकाल लगातार सरकार प्रमुख बन्ने तर नेपालमा प्रजातन्त्रपछि २८ जना प्रधानमन्त्री हुनु सबैभन्दा विडम्बना हो । यस्तो अस्थिरताले देश बन्दैन”, उहाँले भन्नुभयो ।
महासचिव पोखरेलले अमेरिकामा सबैभन्दा पुरानो दलले हालसम्म नेतृत्व गर्ने तर नेपालमा निर्वाचनपिच्छे जनताले नयाँ खोज्ने बानीले पनि अराजकतालाई प्रश्रय दिएको जिकिर गर्नुभयो । विचार र सिद्धान्त भएका पार्टीमा नयाँ नेतृत्व खोजेर अगाडि बढाउनुपर्नेमा उहाँको जोड थियो ।
पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्यहरु हरिकृष्ण ब्यञ्जनकार र बाबुराम थापा, ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलगायतले सम्बोधन गर्नुभएको थियो ।
दुई सय जना प्रतिनिधि रहेको उक्त अधिवेशनबाट ७५ सदस्यीय कमिटी निर्वाचित गर्ने कार्यक्रम रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया