चैत्र ११, २०८१ सोमबार March 24, 2025

छाउगोठमा किशोरी बलात्कृत, घटना लुकाउन अगुवा नै सक्रिय

छाउगोठमा बस्दा बलात्कृत भएर, निसासिएर, सर्पले टोकेर अछाममा मात्रै १७ वर्षमा १४ जना महिला तथा किशोरीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन् । मामाघरमा बसेर पढिरहेकी १६ वर्षीया किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । प्रहरीले आरोपित १७ वर्षीय किशोरलाई पक्राउ गरिसकेको छ ।

डीएसपी पाठकले जिल्ला अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा काउन्सिलिङका क्रममा किशोरीले राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला मामा नाता पर्नेले बलात्कार गरेको बताएको सुनाए । ‘सुरुमा बेहोस हुने समस्या हो भन्दै जिल्ला अस्पताल मंगलसेन पुर्‍याए पनि ती किशोरी होसमा आएपछि बलात्कार भएको कुरा बाहिर आएको हो,’ उनले भने ।

किशोरी होसमा आएर घटनाबारे सबै कुरा बताएपछि प्रहरीको टोली थप अनुसन्धानका लागि घटनास्थलमै पुगेको थियो । त्यहाँ पुगेका डीएसपी पाठकले घटनास्थलको प्रकृति बताउँदै भने, ‘छाउगोठ बाहिर मकैका बोट पनि भाँचिएका छन् । केही रङ पनि देखिन्छ ।’ अनुसन्धानमा खटिएका एक प्रहरीले स्थानीय अगुवाले घटना लुकाउन खोजेपछि पीडित किशोरीलाई नै बोकेर जिल्ला अस्पतालबाट घटनास्थलसम्म पुर्‍याउनुपरेको बताए ।

पीडित किशोरीलाई मंगलबार दिउँसो करिब साढे १२ बजेतिर बेहोस अवस्थामा जिल्ला अस्पताल पुर्‍याइएको थियो । जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरले अस्पताल ल्याएको ३ घण्टापछि मात्रै पीडितलाई होस आएको बताइन् । भनिन्, ‘हाम्रो अनुमानमा किशोरी लगभग १२ घण्टा जति बेहोस भएको देखिन्छ । गाउँमा छारेरोग लागेको र नजिक गए रोग सर्छ भनेर कसैले पनि नछोएको देखियो ।’ उनका अनुसार इमर्जेन्सी वार्डमा होस खुलेको धेरैबेरसम्म किशोरी बोल्न सक्ने अवस्थामा थिइनन् ।

ओसीएमसीमा लगेर काउन्सिलिङ गरेपछि मात्रै उनले घटनाबारे विस्तृतमा बताएकी थिइन् । अस्पतालका एक कर्मचारीका अनुसार मामा नाता पर्नेले मुख च्यापेर आक्रमण गर्दै बलात्कार गरेको र त्यतिबेला नजिकै रहेका अरू दुई जनाको आवाज सुने पनि आफूले ठम्याउन नसकेको किशोरीले बताएकी थिइन् ।

घटनाबारे जानकार पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले किशोरी बिहान अबेरसम्म पनि नउठेपछि छाउगोठमा हेर्दा अचेत अवस्थामा भेटिएको तर गाउँका मान्छे कोही नजिक नगएको बताइन् । मंगलबार बिहान १० बजे कार्यपालिकाको बैठक बस्ने तयारी गरिरहेका बेला आफूलाई गाउँकै मान्छेले एक किशोरी छाउगोठमा बेहोस भएको जानकारी दिएपछि बैठक स्थगित गरेर सबै जनप्रतिनिधिसहित घटनास्थलमा पुगेको उनले बताइन् ।

‘सोमबार साँझ छिमेकीको घरमा जन्मदिन मनाउन गएकी रहेछिन् । सबैले नाचगान रमाइलो गरे । सायद उनी त्यताबाट फर्केपछि महिनावारी भइन् र गोठमा गइन् । त्यही मौकामा उनीमाथि यस्तो घटना भएको हुन सक्छ । म घटनास्थल पुग्दासम्म उनी छाउगोठमा बेहोस नै थिइन् ।’ उनले आफूहरू घटनास्थल पुग्दा पनि स्थानीय भने केही थाहा नपाएजसरी चुपचाप बसेको बताइन् । भनिन्, ‘के भएको हो भनेर सोधपुछ गर्दा गाउँका महिला, पुरुष, बुढापाका सबैले पहिले नै बेहोस हुने गर्थिन् । छारे रोग हो भन्ने एकैनासको जवाफ दिए ।’ किशोरीलाई जिल्ला अस्पताल पठाएपछि जनप्रतिनिधि, प्रहरी र स्थानीयको उपस्थितिमा छाउगोठ मंगलबार नै भत्काइएको नगर प्रमुख चलाउनेले बताइन् ।

कतिसम्म भने मामाघरमा बसेर पढ्ने ती किशोरीकी हजुरआमा र उनकी छोरीलाई समेत प्रहरीले बोलाएर घटनाबारे सोधपुछ गरेको थियो । तर त्यतिबेला पनि उनीहरूले छारे रोग नै भएको बताएका थिए । छाउगोठमा बस्दा ज्यान गुमाउने, बलात्कारलगायतका यौन हिंसामा पर्ने, निसासिएर वा सर्पले टोकेर मृत्यु हुनेको संख्या यहाँ धेरै छ । यसअघि पनि बलात्कृत भएर, निसासिएर, सर्पले टोकेर १४ जना महिला तथा किशोरीले छाउगोठमा ज्यान गुमाइसकेका छन् ।

चार वर्षअघि अछाम साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २० वर्षीया पावर्ती बुढा रावतको छाउगोठमा निसासिएर मृत्यु भएपछि गृह मन्त्रालयकै निर्देशनमा अछाममा १० हजारभन्दा बढी छाउगोठ भत्काइएका थिए । तत्कालीन समयमा गृह मन्त्रालयले छाउपडी कुप्रथा अन्त्य गर्न भन्दै सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ जिल्लालाई परिपत्र गरेको थियो । गृहको परिपत्रमा निर्देशन थियो, ‘छाउगोठ भत्काउनु, जनचेतना जगाउनु र अटेर गर्नेलाई कानुनी कारबाही गराउनु ।’ सोही निर्देशनपछि पार्वतीका जेठाजु छत्र रावत पक्राउ परेका थिए भने अन्य कानुनी प्रक्रिया अगाडि बढेको थियो ।

उक्त घटनामा पार्वतीलाई छाउगोठमा बस्न बाध्य पारेको भन्दै प्रहरीले मुद्दा चलाउन खोज्दा परिवारबाटै असहयोग भएको थियो । परिवारका सदस्यबाट जाहेरी नआएपछि प्रहरी प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको थियो । अनि, जेठाजुलाई अछाम जिल्ला अदालतले छाउगोठमा बस्न बाध्य पारेको भन्दै ४५ दिन कैद सजाय सुनाएको थियो । यो घटनामा छाउगोठ बस्ने, बसाउन बाध्य पार्नेलाई ३ महिना कैद र ३ हजार जरिवाना रहेको कानुन पहिलो पटक आकर्षित भएको थियो ।

मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रहरी कार्यालय अछामले जिल्लाका ९१ वडाका प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान चलाएको थियो । स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीयको संलग्नतामा अछाममा १० हजार बढी गोठ भत्काइएको थियो । तर यस्तो अभियान फेरि रोकिएको छ । २०६३ सालयता अछाममा मात्रै १४ जना महिला तथा किशोरीको छाउगोठमा मृत्यु भएको छ । गृह मन्त्रालयको आदेशमा आव ०७५/७६ देखि ०७७/७८ सम्म प्रहरीले ७ हजार ४ सय ५४ छाउगोठ भत्काएको तथ्यांक सुदूरपश्चिम प्रदेश प्रहरीसँग छ । कान्तिपुर/मेनुका ढुङ्गाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया