कास्की, ८ असार : गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । कास्कीले लगातार दोस्रोपटक प्रतियोगिताको उपाधि जितेको हो ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की सङ्घको व्यवस्थापनमा हिजो र आज सञ्चालन भएको प्रतियोगितामा बाग्लुङलाई ३-० गोलले पराजित गर्दै कास्कीले उपाधि जितेको हो । गत वर्ष पनि तनहुँलाई पराजित गरी कास्कीले उपाधि जितेको थियो ।
उपाधि विजेता कास्कीले नगद रु २० हजारसहित ट्रफी र मेडल प्राप्त गर्दा उपविजेता बाग्लुङले रु १५ हजार प्राप्त गरेको छ ।
यसैगरी तनहुँलाई १-० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गरेको स्याङ्जाले रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई भारतीय पेन्सन क्याम्प पोखराका चिकित्सक मेजर डा आश्विन नारायणकार, नेपाल भारत मैत्री विद्यालयका प्रिन्सिपल मिथुन जय, सहायक प्रिन्सिपल अशोक गुरुङ, नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हितकुमार गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
दसौँं राष्ट्रिय खेलकुदको तयारीस्वरुप प्रतियोगिताको आयोजना गरिएको सङ्घ कास्कीका अध्यक्ष गुरुङले बताउनुुभयो । प्रतियोगितामा सहभागी सबै जिल्लाका उत्कृष्ट खेलाडी छनोट गरेर १०औँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको टोली निर्माण गरिने बताइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया