श्रावण ३, २०८२ शनिबार July 19, 2025

किसानलाई हल गोरु वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भोजपुर, २४ असार : भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो ।

पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो । किसानलाई गोरु वितरणको लागि रु तीन लाख ६० हजार बजेटसमेत विनियोजन गरिएको उहाँको भनाइ छ ।

“हामीले किसानलाई प्रोत्साहन गर्नको लागि हल गोरु वितरण कार्यक्रमअघि सारेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, “लम्की स्किन रोगले धेरै किसानका गोरु मरेका कारण उनीहरु समस्यामा छन् । यो कार्यक्रममार्फत उनीहरुलाई केही राहत पुग्नेछ ।”

किसानलाई ५० प्रतिशत अनुदानमा गोरु वितरण गरिने प्रशासकीय अधिकृत निरौलाले बताउनुभयो । किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै उनीहरुलाई आयआर्जनसँग जोड्न गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको उहाँको भनाइ छ । पछिल्लो समय किसानमा गोरु पाल्ने चलन हराउँदै गएकाले यसको निरन्तरताको लागिसमेत यो कार्यक्रमले टेवा पुग्ने उहाँले बताउनुभयो ।

“पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन पनि हराउँदै गएको अवस्था छ”, उहाँले भन्नुभयो, “गोरु पाल्दा किसानलाई धेरै फाइदा छ । गोरु पाल्दा खेतबारी जोत्नसँगै मलमूत्र पनि काम लाग्छ ।” गाउँपालिकाले किसानलाई प्राथमिकता राख्दै यहाँको दिगो विकासमा जोड दिँदै आएको उहाँको भनाइ छ ।

किसानलाई कृषिमा लाग्न थप हौसला दिनको लागि योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । किसानलाई आयआर्जनमा जोड्न एक घर एक करेसाबारी, नर्सरी स्थापना, मौरीपालन, प्लाष्टिक पोखरी निर्माण कार्यक्रम, सुन्तला खेती विस्तारलगायत कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ । त्यस्तै उत्कृष्ट किसान सम्मान कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

“गाउँपालिकाका किसानको जीवनस्तर सुधारको लागि कृषिको योजनाबद्ध विकासमा जोड दिएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “किसानलाई लक्षित गरेर हल गोरु वितरणको कार्यक्रम अघि सारेका छौँ । यसले पनि किसानलाई थप सहयोग पुग्ने छ ।” किसानलाई लक्षित गरेर उन्नत जातको भैँसी वितरण, गोठ सुधारलगायतको कार्यक्रम पनि सञ्चालन भइरहेको उहाँको भनाइ छ । समथर भू–भागका किसानलाई ध्यानमा राख्दै हाते ट्र्याक्टरलगायतका आधुनिक उपकरणसमेत वितरण भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार