माघ २८, २०८१ सोमबार February 10, 2025

केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

दुई वर्षभित्र कार्यसम्पन्न गर्ने भनिए पनि छ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरूले आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले आज निर्माणाधीन  पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो ।

समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिनुभयो । समितिले दोस्रोपटक पुस्तकालय भवनको निरीक्षण गरेको हो ।

त्यसअवसरमा समितिलाई हालसम्म ८० प्रतिशत प्रगति भएको जानकारी गराइएको थियो ।  विसं २०७२ को गोरखा भूकम्पमा क्षतिग्रस्त केशर पुस्तकालयको भवन विसं २०७६ बाट प्रवलीकरण (रेट्रोफिटिङ) सुरु गरिएको थियो । दुई वर्षभित्र कार्यसम्पन्न गर्ने भनिए पनि छ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरूले आपत्ति जनाएका थिए ।

समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गर्नुभएकामा पुस्तकालय प्रमुख यादवले भवनको सिलिङ राख्न केही ढिलाइ भएको जवाफ दिनुभयो । त्यसका लागि बोलपत्रको समय नौ महिना थप गरिएको उहाँले जानकारी दिनुभयो । “ चैतसम्ममा पुस्तकालय पूरै तयार हुन्छ भन्नेमा आशावादी छौँ”, उहाँले भन्नुभयो, “लगभग ८० प्रतिशत कार्यसम्पन्न भएको छ ।”

यादवका अनुसार पुस्तकालयमा पुरातात्त्विक र नयाँ गरी ६५ हजार पुस्तक संरक्षित छन् । यहाँ एक हजार एक सय ५० वर्ष पुरानो हस्तलिखित ग्रन्थहरू छन् । यिनको ‘डिजिटलाईज’ गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

पुस्तकालयका विषयमा सभापति शर्मा, सांसदहरू गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना, गोपालकुमार बस्नेत, पदमबहादुर परियार, मदनकुमारी साह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा बिसी गरी १२ जनाले विभिन्न जिज्ञासा राख्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया