असार ३०, २०८१ आइतबार July 14, 2024

अरनिको राजमार्ग पुनः अवरुद्ध

निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन अड्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रेपलाञ्चोक। अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो ।

स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले निर्माणाधीन सडकमा हिलो–लेदोका कारण मालवाहकसहित यात्रुवाहक सवारीसाधन अड्किएकाले र पकुचाभन्दा केही तल पहिरो गएकाले राजमार्ग बिहानदेखि अवरुद्ध रहेको बताए।

प्रवक्ता श्रेष्ठका अनुसार राजमार्ग खुलाउन जिल्लास्थित सुरक्षा निकाय र सडक डिभिजनको समन्वय भइरहेको छ । उनले सडकमा ठूलाठूला खाल्डा र हिलोका कारण निकै कठिनाइ देखिएको बताए। धुलिखेलबाट खावासम्म चार किलोमिटर सडकमा आकस्मिकलगायत सवारीसाधन रोकिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । उक्त राजमार्ग वर्षाका कारण पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबारदेखि पहिरो जाँदा करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो । सडकको उक्त पहिरो पन्छाई १४ घण्टापछि मङ्गलबार दिउँसो २ बजे दुवैतर्फी सञ्चालन गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया