काठमाडौँः टर्बोप्रोप इन्जिनयुक्त जहाज उडिरहेको नेपाली आकाशमा एकाएक जेट विमान ल्याएर १० वर्षअघि हवाई यातायात क्षेत्रमा आक्रामक शैलीमा बजार विस्तार थालेको सौर्य एयरलाइन्सले साउन ९ को दुर्घटनाबाट कम्तीमा ९० करोड रुपैयाँ बराबरको जहाज गुमायो ।
अझ चिन्ताको विषय दुर्घटनामा ६ वरिष्ठ इन्जिनियरसहित १२ प्राविधिक कर्मचारीले ज्यान गुमाए, जुन क्षति पैसामा हिसाब हुन सक्दैन । त्यस स्तरको जनशक्ति तत्काल तयार गर्न पनि मुस्किल छ । दुर्घटनामा ज्यान गुमाएका एक नाबालकबाहेक अरू पनि जहाजसँगै जोडिएका जनशक्ति थिए ।
सौर्यका अध्यक्ष दीपक पोखरेलका अनुसार ४५ करोड रुपैयाँ खर्च गरेर दुईवटा इन्जिन फेरिएको छोटो समयमै जहाज दुर्घटनामा परेको थियो । ‘जहाजको मूल्य त बिमाबाट कभर होला तर हामीले वरिष्ठ इन्जिनियरसहित १२ प्राविधिक कर्मचारी गुमायौं,’ उनले कान्तिपुरसँग भने, ‘यत्रो जनशक्ति बनाउन कम्तीमा १२ करोड खर्च गर्नुपर्छ । त्यतिको प्राविधिक जनशक्ति तयार पार्न १०–१२ वर्ष कामको अनुभव दिनुपर्छ ।’ सौर्यको जहाज दुर्घटनामा २७ देखि ८१ वर्षसम्म उमेरका प्राविधिकले ज्यान गुमाएका छन् ।
श्री एयरलाइन्सको एमआई हेलिकोप्टर २०६३ असोजमा ताप्लेजुङको घुन्सामा दुर्घटना हुँदा नेपालले भूगोलविद् हर्क गुरुङसहित संरक्षण क्षेत्रका २४ विज्ञ, मन्त्री र सञ्चारकर्मी गुमाएको थियो । ठूलो प्राविधिक जनशक्ति गुमेको दृष्टिले सौर्यको जहाज दुर्घटनालाई उड्डयनकर्मीले दोस्रो मानेका छन् ।
‘घुन्सा हेलिकोप्टर दुर्घटनापछि एकै क्षेत्रका अनुभवी प्राविधिकहरू गुमाउनुपरेको यो दोस्रो ठूलो दुर्घटना हो,’ नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘उड्डयन क्षेत्रमा अनुभवी जनशक्तिको ठूलो क्षति भएको छ ।’
सौर्यका प्रबन्ध निर्देशक गोपाल भट्टराईका अनुसार कम्पनीका सबै जहाजको मर्मत सम्भार हेर्ने विभागीय प्रमुख ७१ वर्षीय यज्ञप्रसाद पौडेल दुर्घटनामा परे । काठमाडौं महाराजगन्जका उनी सौर्य एयरलाइन्स स्थापना गर्नेमध्येका एक इन्जिनियर थिए । ०३५ सालमा नेपाल वायुसेवा निगममा इन्जिनियरिङ सेवामा प्रवेश गरेर २८ वर्ष सेवा गरेका थिए । निगमपछि भारतको ब्लु डार्ट एभिएसनमा ५ वर्ष जहाज डेपुटी मेन्टिनेन्स म्यानेजरका रूपमा काम गरे । जहाज मर्मतमा मात्रै उनले ४६ वर्ष बिताइसकेका थिए । उनले श्री एयरलाइन्समा पनि तीन वर्ष काम गरेका थिए । पौडेल नेपाली वायुसेवा क्षेत्रमा चिनारु इन्जिनियर थिए । उनका एक छोरा सफ्टवेयर इन्जिनियर छन् ।
सौर्यको जहाजको उडान सुरक्षा हेर्ने प्रमुख जिम्मेवारीमा रहेका बूढानीलकण्ठका ६९ वर्षीय सागर आचार्यको पनि जहाज दुर्घटनामा मृत्यु भयो । उनले नागरिक उड्डयन प्राधिकरणमा ‘एयर ट्राफिक कन्ट्रोलर’ (एटीसी) पदमा ८ वर्ष काम गरेका थिए । त्यहाँबाट राजीनामा दिएपछि उनले निजी वायुसेवा कम्पनी सीता एयरमा सेफ्टी चिफको भूमिकामा १५ वर्ष बिताए । ६ वर्षयता उनी सौर्यमा पाइलट, क्याबिन क्रुलगायतका कर्मचारीलाई उडान सुरक्षा पालना गराउने ‘चिफ अफ सेफ्टी’ को जिम्मेवारीमा थिए । आचार्यका दुई छोरा अमेरिकामा र एमबीए अध्ययन सकेकी छोरी नेपालमा छन् ।
जहाज दुर्घटनामा ज्यान गुमाएका ५८ वर्षीय दिलीपकुमार बर्मा सौर्यमा जहाजको गुणस्तरसम्बन्धी क्वालिटी असुरेन्स विभागका प्रमुख थिए । महोत्तरी मूल घर भई पेप्सीकोलामा बस्दै आएका बर्मा ८ वर्षदेखि सौर्यमा कार्यरत थिए । उनी हवाई क्षेत्रमा प्रवेश गरेको नेपाल एयरवेजबाट हो । नेपाल एयरवेजमा उनले जहाज मर्मतसम्बन्धी योजना बनाउने प्लानिङ इन्जिनियरका रूपमा २०५१ सालमा सेवा थालेका थिए । नेपाल एयरवेज अहिले बन्द भइसकेको छ । उनले फ्लाइङ ड्र्यागन एयरलाइन्स, कस्मिक एयर र सिम्रिक एयरमा पनि जहाजका स्पेयर पार्ट्सको गुणस्तर जाँच गर्ने, मर्मत सम्भार विधामा काम गरिसकेका थिए । सौर्यमा उनी स्थापनाकालदेखि नै आबद्ध थिए । बर्माका एक छोरा र छोरी छन् । उनका छोरा कम्प्युटर इन्जिनियर हुन् ।
सौर्यले गुमाएका युवा इन्जिनियर हुन्, ३२ वर्षीय अश्विनकुमार निरौला । २२ वर्षको उमेरमा उनी सौर्यमा ‘प्रशिक्षार्थी इन्जिनियर’ का रूपमा प्रवेश गरेका थिए । जहाजलाई कहिले सिचेक (विस्तृत परीक्षण र मर्मत) मा पठाउने, इन्जिनको मर्मत कहिले गर्नेलगायतको क्यामो (कन्टिन्युइङ एयरवोर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन) विभाग उनकै नेतृत्वमा चलेको थियो । अध्यक्ष पोखरेलका भान्जा उनी तीक्ष्ण क्षमताका इन्जिनियर थिए । गर्भवती पत्नीलाई प्रसूतिका लागि अबको केही सातामै अस्पताल भर्ना गराउनुपर्ने जिम्मेवारी निरौलामा थियो ।
स्थापनाकालदेखि विदेशी इन्जिनियरबाट जहाज मर्मत गराउँदै आएको सौर्यले दुर्घटनामा यमनी नागरिक आरिफ अब्दुल रेडालाई गुमायो । सौर्यमा चार वर्ष काम गरिसकेका ६० वर्षीय आरिफको यसपटकको नेपाल यात्रा तेस्रो थियो । ‘केही दिनअघि मात्रै उनी नेपाल आएका थिए,’ सौर्यका प्रबन्ध निर्देशक भट्टराईले भने, ‘उनलाई हामीले प्रोजेक्टका आधारमा बोलाउने गर्थ्यौं । सिनामंगलकै गुण अपार्टमेन्टमा राखेका थियौं ।’ जहाज दुर्घटनामा मृत्यु भएका अर्का इन्जिनियर हुन् काठमाडौं नागार्जुनका ३४ वर्षीय उद्धव पुरी । उनी ७ वर्षदेखि सौर्यका जहाज मर्मतमा आबद्ध थिए । उद्धव जस्तै जहाज मर्मतमा चार वर्षदेखि कार्यरत धनुषाका ३४ वर्षीय सन्तोषकुमार महतोको पनि साउन ९ को दुर्घटनामा मृत्यु भयो ।
यती एयरलाइन्स छाडेर आएका ४३ वर्षीय राजाराम आचार्यले कोभिड महामारीअघि सौर्यमा जागिर सुरु गरेका थिए । उनी एयरक्राफ्ट मेन्टिनेन्स टेक्निसियन थिए । टेक्निकल अफिसरका रूपमा ५ वर्षदेखि कार्यरत काठमाडौंकै ६६ वर्षीय पुण्यरत्न शाही, नेपाल वायुसेवा निगमबाट सेवामा प्रवेश गरेका सिनियर एयरक्राफ्ट टेक्निसियन कुपण्डोलका ८१ वर्षीय श्याम विन्दुकार, सिनियर टेक्निसियन बाँकेका ४३ वर्षीय सर्बेस मरासिनी, कन्टिन्युइङ एयरवोर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसनमा सिनियर टेक्निसियन पदमा कार्यरत ललितपुरका २७ वर्षीय सुदिगलाल जोशी, मर्मत विभागमा सहयोगीको भूमिकामा रहेका नुवाकोटका नवराज आलेमगर र २६ वर्षीय को–पाइलट विराटनगरका सुशान्त कटुवालको यस घटनामा मृत्यु भयो । यसबाहेक सौर्यमा सिनियर आईटी अफिसरका रूपमा कार्यरत मनुराज शर्मा, ऊर्जा मन्त्रालयमा करारमा कम्प्युटरमा कार्यरत उनकी पत्नी प्रिजा र छोरा अदिराजले पनि ज्यान गुमाएका छन् । प्रबन्ध निर्देशक भट्टराईका अनुसार प्रिजाले ‘पार्टटाइमर’ का रूपमा सौर्यमा कम्प्युटर डेटा व्यवस्थापनको काम गर्थिन् । दुर्घटनामा क्याप्टेन मनीषरत्न शाक्यको जीवितै उद्धार भयो । उनलाई थप उपचारका लागि सिंगापुर लाने तयारी छ ।
०७१ सालमा स्थापना भएको सौर्यले अल्फा लिमा इको रजिस्ट्रर नम्बरको सीआरजे ल्याएर सुरुका तीन वर्ष चार्टर उडानमात्रै गरेको थियो । त्यसपछि दुईवटा जहाज थपेर व्यावसायिक आन्तरिक उडान थालेको थियो । वार्षिक ९० करोड रुपैयाँ हाराहारीको कारोबार गर्दै आएको सौर्यसँग अब उडानयोग्य जहाज एउटा मात्रै छ । अधिकांश प्राविधिक जनशक्ति दुर्घटनामा परेकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमका कारण सौर्य तत्कालै नियमित उडानमा फर्किने सम्भावना न्यून छ । अध्यक्ष पोखरेलले आवश्यक इन्जिनियर ल्याउन आफू नेपाल बाहिर जान लागेको बताए ।
तीन जहाजका लागि नौ पाइलटहित १ सय ४० हाराहारी कर्मचारी भएको यस कम्पनीमा दुबईमा बस्दै आएका भारतीय नागरिकहरूको कुबेर ट्रेडिङ एफजेट कम्पनीको ४९ प्रतिशत लगानी रहेको छ भने बाँकी ५१ प्रतिशत अध्यक्ष पोखरेलसहित झापा र धरानका व्यापारी समूहको लगानी छ । आजको कान्तिपुरबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया