जेठ ७, २०८२ बुधबार May 21, 2025

त्रिविमा फेरि किचलो

समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख नियुक्तिको विवादका कारण शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई विद्यार्थीले ज्यान मार्ने धम्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ ६ गते । नयाँ पदाधिकारी नियुक्तिसँगै लयमा आउन लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा फेरि किचलो सुरु भएको छ । बढ्दो राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बनेको आरोप खेपिरहेको त्रिविमा एक विभागीय प्रमुख नियुक्तिको विवादले पदाधिकारी कार्यालयमै छिर्न नसक्ने अवस्था निम्त्याएको हो ।

समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख नियुक्तिको विवादका कारण शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई विद्यार्थीले ज्यान मार्ने धम्की दिएका छन् । जसका कारण केसीसहित रजिस्ट्रार प्राडा केदार रिजाल पछिल्लो समय सहज रूपमा कार्यालय प्रवेश गर्नसमेत सक्नुभएको छैन ।

तथापि सरकारले डिएसपीको नेतृत्वमा प्रहरी परिचालन गरेपछि उहाँहरू बुधबारदेखि नियमित काममा फर्कनुभएको छ । उपकुलपति प्राडा केशरजङ्ग बराल भने बिरामी भएर घरमै आराम गरिरहनुभएको छ ।

विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार आफूले भने अनुसारको व्यक्तिलाई विभागीय प्रमुख बनाउन दबाब दिँदै केही विद्यार्थी सङ्गठनका नेताले पदाधिकारी तथा प्राध्यापकलाई आक्रमणको धम्की दिएका छन् ।

बुधबार बिहानै मन्त्री भट्टराईले फेसबुकमार्फत त्रिविमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्ने र प्राध्यापकलाई फोन गर्दै धम्की दिने गरेका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको जानकारी दिनुभएको थियो । साथै गुन्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै विश्वविद्यालयको सुरक्षाको प्रबन्ध गर्न उहाँले गृहमन्त्रीसँग माग गर्नुभएको थियो ।

मन्त्री भट्टराईको आग्रहपछि बुधबार प्रहरीले उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयमा सुरक्षा दिएको थियो । त्रिविमा पछिल्लो समयदेखि समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा विवाद आफू मातहतका निकायमा पदाधिकारी नियुक्ति गर्दा अनुभवी र वरिष्ठलाई मात्रै अघि सार्ने उद्देश्यले त्रिवि कार्यकारी परिषद्ले केही समयअघि तयार गरेको मापदण्डसँग सम्बन्धित हो ।

तर विश्वविद्यालय स्रोतका अनुसार विभागले कार्यविधि अनुसार वरिष्ठताका आधारमा सिफारिस गरेको नामावलीलाई मानविकी तथा सामाजिक शास्त्र डिन कार्यालयले उल्ट्याउँदै दोस्रो नम्बरमा रहेका सहप्राध्यापक टीका गौतमलाई सिफारिस गरेपछि विवाद भएको हो । ३२ साउनमा तत्कालीन विभाग प्रमुख प्राडा युवराज लुइटेलको पदावधि सकिनुअघि लुइटेलले नै नयाँ विभागीय प्रमुख नियुक्तिका लागि सहप्राध्यापकहरू पासाङ शेर्पा, टीका गौतम र मनहरि ढकालको नाम सिफारिस गर्नुभएको थियो । तर डिन प्राडा कुसुम शाक्यले दोस्रो नम्बरमा रहेको गौतमलाई विभागीय प्रमुख नियुक्तिका लागि शिक्षाध्यक्षसमक्ष सिफारिस गरेको आरोप लागेको छ ।

उक्त सिफारिसलाई शिक्षाध्यक्षले कार्यकारी परिषद्को बैठकमा पेस गर्नुपर्ने हुन्छ । तर को वरिष्ठ भन्ने विषयमा विवाद भएपछि शिक्षाध्यक्ष कार्यालयले समाजशास्त्र विभागमा कार्यरत सम्पूर्ण प्राध्यापकको विवरण पठाउन हालै मात्र डिन कार्यालयलाई लिखित निर्देशन दिएको छ । उक्त निर्देशनको जवाफ आइसकेको छैन । समाजशास्त्र विभाग साउन ३२ गतेदेखि नै प्रमुखविहीन छ । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ’
२०८२ जेठ ७, बुधबार
शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल
२०८२ जेठ ७, बुधबार
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार