काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेताहरूले सङ्गठन विस्तारलाई विशेष ध्यान दिन एवं प्रभावकारी तवरले जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा आफ्नो धारणा राख्दै नेताहरूले पार्टीभित्र आन्तरिक एकतालाई सुदृढ गरेर सङ्गठन विस्तारलाई ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।
आजको बैठकमा नेताहरू झक्कु सुवेदी, श्रीकृष्ण अधिकारी, विष्णु सापकोटा, लेखनाथ न्यौपानेलगायत नेताहरूले पार्टीको पछिल्लो अवस्था, सङ्गठन विस्तार एवम् आन्तरिक एकतामा जोड दिनुभएको थियो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई बलियो बनाउनका लागि खुल्ला छलफल भएको र त्यसलाई अन्यथा रुपमा लिन नहुने बताउनुभएको थियो । उहाँले अब व्यापक रुपमा पार्टी निर्माणतिर जाने र समाजवादी धारका शक्तिलाई सहकार्यको बाटो पहिल्याउने गरी अग्रसर हुने बताउनुभएको थियो ।
बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपाध्यक्ष द्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव द्वय वर्षमान पुन र जनार्दन शर्मा र नेता हितमान शाक्यलगायतको उपस्थिति थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया