असोज १९, २०८१ शनिबार October 5, 2024

तीन महिनादेखि बागलुङका अधिकांश ग्रामीण सडक ठप्प

दर्लिङ, नयाँ गाउँ, मालारानी, आरुपाटा, निगल पानी पुग्ने सडक पूर्ण रुपमा ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढोरपाटन (बागलुङ)।  बागलुङका अधिकांश ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध छन् । वर्षात्का कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका सडक वर्षा नरोकिँदा स्थानीय तहले खुलाउन सकिरहेका छैनन् ।

चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा अधिकांश बस्तीसम्म सडक पुगे पनि हिउँदको समयमा यातायात सञ्चालन हुन्छन्, बर्खाको करिब चार महिना ठप्प हुन्छन् । बर्खामा सबैभन्दा कम तमानखोला गाउँपालिकामा सवारीसाधन सञ्चालन हुने गरेका स्थानीय बताउँछन् ।

तमानखोलामा गाउँपालिकाको केन्द्र बोङ्गा दोभान बजारबाट वडा नं १ को स्याउला, पहिरागाउँ, वडा नं ३ को तमान, ४ को हिले लाम्मेला, वडा नं ५ को खुङ्खानीथास्पुरी र वडा नं ६ को नर्जाखानी, भित्रिवनपात्लेलगायत गाउँमा पुग्ने सडक ठप्प भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो । जिल्लाका ग्रामीण सडकमा स्थानीय खोलामा पानीको बहाव नघट्दासम्म सञ्चालनमा आउनसक्ने स्थिति नरहेको उहाँले बताउनुभयो ।

असोजको अन्तिम सातासम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको सडक खुलाएपछि सवारीसाधन सञ्चालनमा आउने बुढामगरले बताउनुभयो । “तीन वर्ष अगाडिसम्म बुर्तिबाङ बजारबाट पालिकाको केन्द्र बोङ्गा दोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपथ्र्यो । ढोरपाटन नगरपालिका–४ हुन्द्राफेँदी र भालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेका छन्”, उहाँले भन्नुभयो ।

अहिले पालिकाको केन्द्रबाट वडा नं २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन । वडा नं ३ को तमान गाउँ पुग्नका लागि बुर्तिबाङबाट खुङ्गा हुँदै सिधा यातायात सञ्चालन भए पनि पालिकाको केन्द्रबाट भने हुन सक्दैन । सबैभन्दा टाढाको गाउँ नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँच वटा मोटरेबल पुलको आवश्यकता पर्ने तमानखोला गाउँपालिकाका अध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं ५ को खुङ्खानी पुग्न तीन, पहिरा पुग्न तीन, स्याउला र हिजा पुग्न एउटा पुल आवश्यक छ । अहिलेसम्म एक स्थानमा पुल बने पनि अरु स्थानमा पुल नबन्दा स्थानीय मर्कामा परेका अध्यक्ष बुढामगरले बताउनुभयो ।

“तमान खोलामा छरिएर रहेका गाउँ र बस्ती पनि छरिएका छन्, सबैतिर सडकको पहुँच पुगे पनि स्रोतसाधनको अभावले खोलामा पुल बनाउन सकिएको छैन । यहाँ करिब एक दर्जन पुल निर्माण हुनुपर्ने हो, सबै पुल बनाउन पालिकासँग बजेट छैन”, अध्यक्ष बुढामगरले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारसँग माग गरिरहेका छौँ, बर्खाको करिब तीन महिना गाउँमा गाडी नचल्दा स्थानीयले समस्या भोग्नुपरेको छ ।”

जिल्लाको बडिगाड गाउँपालिकामा यस वर्ष पहिराले सडकमा ठूलो क्षति पु¥याएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । यस वर्षको वर्षाले ग्रामीण सडक भत्किँदा करिब रु १५ करोडको क्षति भएको उहाँले बताउनुभयो ।

पालिकाले बर्खाले बिगारेको सडक मर्मतका लागि रु ६० लाख विनियोजन गरे पनि उक्त बजेटले केही ठाउँमा मात्रै सडक सञ्चालनमा ल्याउन सकिने अध्यक्ष अधिकारीले बताउनुभयो । गाउँपालिकाभित्र रहेका दर्लिङ, नयाँ गाउँ, मालारानी, आरुपाटा, निगल पानी पुग्ने सडक पूर्ण रुपमा ठप्प भएका उहाँले जानकारी दिनुभयो ।

“यो वर्ष बडिगाडमा बाढीपहिरोले सडकमा ठूलो क्षति पु¥याएको छ, चाडवाड नजिक आइरहेका छन् । वर्षा नरोकिँदा सडक मर्मतमा समस्या भइरहेको छ । दुई साता अघि पानी पर्न कम भएपछि अवरुद्ध सडक खुलाउने तयारी गरे पनि अहिले पुनः वर्षा भएर सम्भव भएन्”, अध्यक्ष अधिकारीले भन्नुभयो, “असारको दोस्रो हप्तादेखि बडिगाडका ग्रामीण सडक बन्द छन् । चाडबाड दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिन भएको छ, हामी सडक सञ्चालन गर्न प्रयासरत छौँ ।”

जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा बागलुङ, गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । तीन महिनादेखि गाउँमा आउने सडक पूर्ण रुपमा बन्द हुँदा सामान ढुवानी गर्न समस्या भएको तमानखोला गाउँपालिका–६ का पूर्णबहादुर छन्त्यालले बताउनुभयो । हिउँदको समयमा जसोतसो गाडी सञ्चालन भए पनि बर्खामा ठप्पै हुने बताउँदै दशक अगाडि गाउँमा सडक नपुग्दा पैदल हिँडेरै बजार पुगेर सामान ल्याउने गरेको उहाँले स्मरण गर्नुभयो ।

छन्त्यालले भन्नुभयो, “दसैँ आयो, बर्खा नलाग्दै बजारबाट ल्याएको सामान सबै सकिन थाल्यो । पानी निरन्तर परिरहेकाले खोलाको पानी घटेको सम्भावना अझै छैन, बर्खामा स्थानीयले धेरै समस्या भोग्नुपरेको छ ।” सडक मर्मत गरी आवागमन सहज बनाउन उहाँले सरोकार भएका निकायलाई आग्रह गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
१४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषणा
२०८१ असोज १९, शनिबार
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
२०८१ असोज १९, शनिबार
ऊर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहर व्यवस्थापन
२०८१ असोज १९, शनिबार
इजरायलसँग बढ्दो द्वन्दकाबिच पहिलो चरणको सहायता सामग्री बोकेर राष्ट्रसङ्घको विमान लेबनानमा
२०८१ असोज १८, शुक्रबार
दाउन्नेको सडक भासिएपछी यातायात फेरि अवरुद्ध
२०८१ असोज १८, शुक्रबार
विश्व कराते च्याम्पियनसिपमा एरिका सहभागी हुँदै
२०८१ असोज १८, शुक्रबार
विश्व द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको चेतावनी
२०८१ असोज १८, शुक्रबार