मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

विकास परियोजनाले कालीगण्डकी नदी सङ्कटमा पर्ने चिन्ता

नदीको मनलाग्दी दोहन र नदीमा आधारित ठूला विकास परियोजनाका कारण भविष्यमा जलसङ्कट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी। मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै त अप्राकृतिक दोहनको चपेटमा परेको कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर सङ्कट निम्तने ‘कालीगण्डकी बचाऔँ अभियान’ले जनाएको छ ।

उक्त अभियानले विज्ञप्तिमार्फत सरकारले प्रस्तावित गरेका कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोनजा, कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाजस्ता परियोजना अघि बढाउँदा तटीय क्षेत्रको जनजीवन र सांस्कृतिक धरोहरमा असर पुग्ने जनाएको छ । कालीगण्डकी नदीको पानी पथान्तरण (डाइभर्सन) गरी तिनाउमा खसालेर रुपन्देहीसहितका क्षेत्रमा खानेपानी, सिँचाइ सुविधा र जलविद्युत् आयोजना निर्माण गर्ने सरकारको लक्ष्य छ ।

यस्तै बागलुङ र पर्वत जिल्ला समेटिने गरी कालीगण्डकी नदीमा बाँध बाँधेर छ सय ४० मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजना, जलविहारलगायत बहुउद्देश्यीय अयाोजना सञ्चालनका लागि अहिले वातावरणीय प्रभाव मूल्याङ्कनलगायत काम भइरहेको छ । ‘कालीगण्डकी बचाऔँ अभियान’ले यी दुवै परियोजनाले नदी र पर्यावरण संरक्षणका दृष्टिले उपयुक्त नरहेको विज्ञप्तिमार्फत जनाएको छ । कालीगण्डकी डाइभर्सन अयाोजनाविरुद्ध परेको रिट सर्वोच्च अदालतले हालै खारेज गरिदिएको विषयमा पनि ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

“यस्ता परियोजनाले आसपासका क्षेत्रका बासिन्दाको दीर्घकालीन हक र भविष्यको अस्तित्वमा गम्भीर असर पुर्याउन सक्छ । कालीगण्डकी नदीको संरक्षण र यसको पारिस्थितिकीमा अझ बढी खतरा उत्पन्न हुन्छ”, अभियानका संयोजक आरके अदीप्त गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । परियोजनाले कालीगण्डकी नदीको आफ्नै जीवन्त प्राकृतिक प्रवाह खल्बलिने र यसको ऐतिहासिक, सांस्कृतिक, धार्मिक महत्वलाई नष्ट गर्ने जोखिम उत्पन्न गरेको संयोजक गिरीको भनाइ छ ।

नदीको मनलाग्दी दोहन र नदीमा आधारित ठूला विकास परियोजनाका कारण भविष्यमा जलसङ्कट, जैविक विविधताको ह्रास र भौगर्भिक सङ्कटन निम्तन सक्ने उहाँले बताउनुभयो । अभियानले मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा नगर्न र मौनता नसाँध्न सबै पक्षलाई आग्रह गरेको छ । पर्यावरण संरक्षणसँगै मौलिक ढङ्गले विकास परियोजना सञ्चालन गर्नुपर्ने उसको माग छ ।

हिमालको काखबाट बग्ने कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन अभियानले विगतदेखि नै रचनात्मक दबाब बढाउँदै आएको छ । चार वर्षअघि जन्मेको उक्त अभियानले यसअघि ‘नदी सप्तक’ कविता शृङ्खला पनि चलाएको थियो । कालीगण्डकी दोहनले नदीको सौन्दर्य र सभ्यतामात्र नासिने नभई समग्र मानव–प्रकृति चक्रलाई दुःखान्त स्थितिमा पुर्याउने भएकाले संरक्षण अभियान चलाउनुपरेको संयोजक गिरीले बताउनुभयो ।

नदीमा हुने मानवीय हस्तक्षेपका कारण पानीको प्रदूषण, वनस्पति र जनावरको पारिस्थितिकीमा असन्तुलन र जैविक विविधतामा नोक्सानी पुर्याइरहेको उहाँको भनाइ छ । नदीको धार परिवर्तन र जलासय निर्माणले धार्मिकस्थल, ऐतिहासिक संरचना र प्राकृतिक विविधताको नष्ट हुने जोखिम रहेको उहाँको भनाइ छ । कालीगण्डकी नदी मानव जीवनको स्रोत नदी भएकाले यसको संरक्षणका लागि सबैले आआफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने गिरीको भनाइ छ । धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरुपमा बग्न दिनुपर्ने अभियानकर्मीहरूको माग छ ।

विश्वमै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ । दोहनकै कारण कालीगण्डकीमा मात्रै पाइने उक्त शालिग्राम शिला लोपोन्मुख स्थितिमा पुगेको छ । यो नदी हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिणतर्फ बग्छ । राज्यको उचित र कठोर नीति नहुँदाको फाइदा उठाउँदै गिट्टी, बालुवा उत्खननका नाममा मनपरी ढङ्गले नदी दोहन भइरहेको छ । मुक्तिनाथबाट देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटोन्मुख अवस्थामा छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार