मंग्सिर २४, २०८१ सोमबार December 9, 2024

अख्तियारमा गुल्मीबाट मात्रै ६० उजुरी दर्ता

उजुरीमध्ये ३५ वटा फर्छ्यौट भएको र बाँकी २५ उजुरी छानबिनकै क्रममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् ।

उजुरीमध्ये ३५ वटा फर्छ्यौट भएको र बाँकी २५ उजुरी छानबिनकै क्रममा रहेको बताइएको छ । आयोगले जिल्लास्तरमा अन्तरक्रिया सरोकारवाला निकायबीच अन्तरक्रिया गरेको छ । अख्तियारले गुल्मीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया गरेको हो ।

पछिल्लो समयमा स्थानीय तहमा उजुरीको सङ्ख्या बढ्दै जान थालेसँगै स्थानीय तह र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीचको दूरी कम गर्ने उद्देश्यले गुल्मीमा जिल्लास्तरीय रूपमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दुई नगरसहित १२ स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमेशकुमार केसीले अख्तियारले गर्ने कार्य र क्षेत्राधिकारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेन्द्रकुमार पौडेलले गुल्मी जिल्लासहित कार्यक्षेत्रभित्र रहेका आठ जिल्लाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तु एवं स्थानीय तहलाई आयोगका सुझावका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपचारात्मक, निरोधात्मक र प्रवर्द्धननात्मक गरी मुख्य रुपमा तीन किसिमका रणनीतिक उपायमार्फत भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्य गर्दै आएको छ ।

कार्यक्रममा सहभागीले अख्तियारसँग सम्बन्धित केही जिज्ञासासमेत राखेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेलले पछिल्लो समयमा अख्तियारसँग डराउने भाष्य निर्माण भएको भन्दै सही नियतले काम गर्दा कसैसँग डराउन नपर्ने बताए । उनले अख्तियारमा उजुरी पर्दैमा विकास निर्माणका काम रोक्ने गरेको भन्दै त्यसो नगर्न आग्रह गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया