माघ ४, २०८१ शुक्रबार January 17, 2025

सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा

स्थलगत अवलोकन गरेका टोलीले प्रतिवेदन दिएपछि सोहीअनुसार आवश्यक काम गर्न जिल्ला प्रशासनले समन्वय गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

का सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिरोको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो ।

सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दै छ, जसले स्थानीयवासी त्रसित छन् । स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताइन् । यसले बस्ती र जग्गा दुवै जोखिममा पारेको उनले बताइन् ।

स्थानीय तेजबहादुर कार्कीले यस क्षेत्रमा ३० वर्षअघि पनि यहाँ पहिरो गएकामा उस्तै अवस्था दोहोरिन लागेको भन्दै फेरि स्थानीय त्रासमा रहेको बताए । ‘वर्षायाममा त समस्या हुन्छ नै, यहाँ त सुख्खायाममा पनि पहिरो जाने गरेकाले समस्या भएको छ । यसको उचित व्यवस्थापन नभए बस्ती नै विस्थापित हुने जोखिम छ’, उनले भने ।

सोलुदुधकुण्ड नगरपालिका–११ का अध्यक्ष टङ्कबहादुर कार्कीले पहिरोका कारण एक सयभन्दा बढी घर जोखिममा रहेको बताए । उनले भने, ‘हिउँदको समयमा समेत पहिरो गइरहेकाले गाउँ नै जोखिममा छ, यो पहिरो यही गतिमा बढ्दै जाने हो भने सय डेढ सय घरपरिवार विस्थापित हुने अवस्था आउँछ । पहिरो विस्तार हुँदै गइरहेकाले यसको रोकथामका लागि तत्काल काम गर्न आवश्यक छ ।’ वडाध्यक्ष कार्कीले पहिरोले स्थानीयको दैनिकी नै प्रभावित भइरहेको बताए ।

स्थानीय चित्रकुमारी बस्नेतले पहिरोका कारण सुख्खायाममा पनि ढुक्कले सुत्न नपाएको सुनाउँछिन् । ‘राति निन्द्रा नै लाग्दैन । जहिले पनि पहिरोले हाम्रो घर पुरेर लैजान्छ कि भन्ने डरले हामीलाई सताइरहन्छ । बाउबाजेदेखिको सम्पत्ति भनेको यही घरबारी थियो, यही अवस्था रहेमा यो केही बच्नेवाला छैन’, उनले दुःखेसो पोखिन् । करिब ३० वर्षअघि सामान्य रहेको पहिरो यही मङ्सिर १२ गतेपछि मात्रै करिब पाँच सय मिटर फैलिएको उनले सुनाइन् ।

स्थानीयका अनुसार पहिरोले नजिकै रहेको उतिसको जङ्गलसहित गोरेटो बाटोसमेत कटान गरिसकेको छ । त्यसभन्दा माथि रहेको खेतीयोग्य जमिन चिराचिरा भएको छ । पहिरो बस्ती नजिकको सडकछेउ पुगिसकेको छ ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले पहिरो क्षेत्रको वस्तुस्थिति आँकलन गर्न जिल्ला सुरक्षा समितिको टोलीले पहिरोग्रस्त क्षेत्रको निरीक्षण गरेको बताए । जलश्रोत तथा सिँचाइ सब डिभिजन कार्यालय र ओखलढुङ्गाको भू–जलधार संरक्षण कार्यालयका विज्ञसहतिको टोलीले समेत पहिरोग्रस्त क्षेत्रको अध्ययन सुरु गरेको उनको भनाइ छ ।

‘स्थानीय प्रशासन नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सधैँ सचेत छ । पहिरो रोकथाम र नागरिकको जिउधनको सुरक्षामा हामी हदैसम्म गम्भीर छौँ, यसका लागि कुनै कसर बाँकी राख्ने छैनौँ तर समग्र अवस्थाको आँकलन गरी पहिरो रोकथामका लागि विज्ञ टोलीले थप अध्ययन गर्न आवश्यक छ । यसका लागि तिनै तहका सरकारबीच समन्वय गरी अगाडि बढ्नुपर्छ’, प्रमुख जिल्ला अधिकारी घिमिरेले भने ।

उनले हाल अध्ययनका लागि स्थलगत अवलोकन गरेका टोलीले प्रतिवेदन दिएपछि सोहीअनुसार आवश्यक काम गर्न जिल्ला प्रशासनले समन्वय गर्ने जानकारी दिए ।

स्थानीय नागरिक र सरोकारवाला पनि हालसम्म अध्ययनमा सङ्लग्न टोलीले समस्या समाधानका लागि उपाय खोज्नेमा आशावादी छन् । सो टोलीको सिफारिसको आधारमा थप अध्ययन वा रोकथामका काम अगाडि बढ्ने अपेक्षा गरिएको वडाध्यक्ष कार्कीले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया