असार २५, २०८२ बुधबार July 9, 2025

सरकार आश्वासन दिएको दियै बक्यौता बढेको बढ्यै

निर्माण व्यवसायीको बक्यौता ४० अर्बभन्दा बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले निर्माण व्यवसायीलाई दिनुपर्ने ४० अर्बभन्दा बढी रुपैयाँ भुक्तानी गर्ने प्रतिबद्धता र आश्वासन पटकपटक दिए पनि बक्यौता भने बढेको बढ्यै छ ।

गत वर्षको पुसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गत असारमा बनेको केपी शर्मा ओलीको नयाँ सरकार अनि दसैंअगाडि नै भुक्तानी दिने भनेर सोही सरकारले भने पनि भुक्तानी भने हुन सकेको छैन ।

सरकारले भुक्तानी दिने भनेर बजेट निकासा गरे पनि कर्मचारीहरूले बिलबिजक नमिलेकोलगायतका बहाना बनाउँदै भुक्तानी नदिने गरेको व्यवसायीहरूको गुनासो छ । एक निर्माण व्यवसायीले आर्थिक नजराना लिनकै लागि कर्मचारीले भाँजो हाल्ने गरेको आरोप लगाए ।

आश्वासन र प्रतिबद्धता जनाउने क्रममा गत हप्ता भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीको बक्यौता चाँडै हुने र शनिबार अर्थमन्त्री विष्णु पौडेलले पनि चाँडै नै बक्यौता निकासा हुने बताए । तर, निर्माण व्यवसायीहरू भने सरकारको प्रतिबद्धता र आश्वासनप्रति विश्वस्त हुन सकेका छैनन् ।

भौतिक पूर्वाधारमन्त्री दाहालले ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको र १५ दिनभित्र भुक्तानी हुने जनाएको १ हप्तापछि अर्थमन्त्री पौडेलले शुक्रबारसम्ममा भुक्तानी हुने बताएपछि केही निर्माण व्यवसायीहरू भने उत्साहित भएका छन् ।

भौतिक पूर्वाधार यातायात मन्त्रालयका अनुसार सो मन्त्रालयको मात्रै ५ अर्ब ६६ करोड रुपैयाँ बक्यौता रहेको छ । सो बक्यौतामध्ये अब ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी चाँडै हुने आश्वासन दिएका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रमेश शर्माले गत वर्ष पनि यसरी नै आश्वासन पाएको र अघिल्लो आर्थिक वर्षकै बक्यौता बाँकी रहेको गुनासो गरे ।

उनका अनुसार गत असार मसान्तमै काम सम्पन्न भएर पनि ६ अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेको छ । आयोजनाको म्याद समाप्त भएकाले भेरिएसन स्वीकृत हुन, बिल बन्न नसकेको, म्याद समाप्त भएको लागतका कारण ३५ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी हुन बाँकी रहेको पनि उनले बताए ।

भुक्तानी रोकिँदा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत दिएको कर्जाको सुविधा निर्माण व्यवसायीले प्राप्त गर्न सकेका छैनन् । निर्माण व्यवसायीले कर्जाको साँवा ब्याज तिर्न नसकेका कारण मंसिर मसान्तसम्म पाएको साँवा र ब्याज तिर्ने समय सकिनै लागेको छ ।

निर्माण व्यवसायीले गत असार मसान्तसम्ममा साँवा र ब्याज नतिरे पनि त्यस्तो कर्जालाई मंसिर मसान्तसम्म निष्क्रिय वर्गमा वर्गीकरण नगर्न सुविधा दिएको थियो ।

सरकारले बक्यौता दिन बाँकी रहेकोमध्ये सबैभन्दा बढी बक्यौता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रहेको छ । सो मन्त्रालयको मात्रै निर्माण व्यवसायीको ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

यद्यपि, सो मन्त्रालयले चालू आर्थिक वर्षमा ५ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी भएको दिइसकेको छ । सो मन्त्रालयको असोजसम्ममा ८ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारबाट समग्रमा अझै ४० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी हुन बाँकी रहेको देखिएको बताए ।

मुलुकका विभिन्न राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीय, प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएका आयोजना, स्थानीय अस्पताल तथा अन्य विभिन्न आयोजना निर्माण सम्पन्न भए पनि सरकारबाट व्यवसायीलाई ४० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बाँकी रहेको हो ।

आर्थिक वर्ष ०७९–८० र ०८०–८१ देखिकै भुक्तानी गर्न बाँकी रहेको गुनासो व्यवसायीहरूको छ । यद्यपि, सरकारले गत साउनमा ८७ करोड बक्यौता दिनुपर्नेमा ३० करोड ९० लाख रुपैयाँ दिएको थियो ।

भुक्तानी नपाउँदा व्यवसायीले बैंक ऋणको किस्ता तथा राज्यलाई बुझाउनुपर्ने करसमेत बुझाउन नपाएको पनि बताएका छन् ।

भुक्तानी नपाउँदा व्यवसायीले ठेक्का पाएर पनि नयाँ काम बढाउन सकेका छैनन् जसले गर्दा सरकारको पुँजीगत खर्च कमजोर देखिएको छ । पुँजीगत खर्च हुन नसक्दा र निर्माण व्यवसायीलाई दिनुपर्ने भुक्तानी रोकिँदा मुलुकमा अझै पनि आर्थिक कारोबारमा सुस्तता यथावत् नै रहेको छ ।

आर्थिक वर्ष २०८१–८२ को ५ महिना नाघ्नै लाग्दा पनि सरकारको पुँजीगत खर्च ११ प्रतिशतभन्दा वढी बढ्न सकेको छैन । अहिलेसम्ममा ३९ अर्ब १६ करोड रुपैयाँ मात्र पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक रहेको छ ।

निर्माण व्यवसायमा छाएको सुस्तताकै कारण राष्ट्रिय तथ्यांक कार्यालयले निर्माण क्षेत्रको आर्थिक वृद्धि ऋणात्मक रहने आकलन गरेको छ । आर्थिक वर्ष २०७८–७९ मा निर्माण क्षेत्रको वृद्धिदर करिब ७ प्रतिशत देखिएको थियो । तर, आर्थिक वर्ष २०७९–८० मा यो क्षेत्रको वृद्धिदर १ दशमलव १ प्रतिशतले ऋणात्मक भएको थियो । प्रतिशतका आधारमा वृद्धिदर ऋणात्मक देखिए पनि आर्थिक वर्ष २०७९–८० मा कुल निर्माण क्षेत्रमा भएको उत्पादन घटेको थिएन । गत आवमा भने २ प्रतिशत आर्थिक वृद्धि ऋणात्मक रहेको थियो । आजको राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार