घोराही, पुस २८ गते। नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा. शंशाक कोइरालाले राजनीति गर्नेले पदको लोभ गर्नु नहुने बताउनुभएको छ।
नेपाल प्रजातन्त्र सेनानी संघको लुम्बिनी प्रदेशस्तरीय प्रथम अधिवेशनलाई दाङको घोराहीमा सम्बोधन गर्दै नेता कोइरालाले राजनीति जनताको सेवाका लागि भएकाले सत्ता र पदको लोभ गर्न नहुने बताउनुभएको हो।
राजनीतिमा लोभ पलायो भने जनताको सेवाभन्दा पनि सुविधा प्राप्तिमा ध्यान जाने भएकाले त्यसले स्वयम् व्यक्तिसँगै पार्टीलाई कमजोर बनाउने कोइरालाको धारणा थियो। स्वास्थ्य क्षेत्रमा काम गर्दागर्दै जनताको सेवाका लागि आफू राजनीतिमा प्रवेश गरेको भन्दै नेता कोइरालाले भन्नुभयो, ‘म चार पटक निर्वाचन जितेर सांसद भइसकेँ तर ममा अहिलेसम्म मन्त्री वा प्रधानमन्त्री बन्ने चाहना छैन। मेरो ध्यान देश र जनताको सेवा गर्नेमा छ। पद र सत्तामा छैन।’
पार्टीको आगामी महाधिवेशनलाई लिएर नेता लागे पनि आफू पार्टी र जनताका लागि राजनीति गरेकाले पदलाई अहिले प्राथमिकतामा नराखेको भन्दै समय आएपछि परिस्थिति अनुसार अघि बढ्ने बताउनुभयो।
पार्टी बिपीको विचारभन्दा बाहिर गएको भन्दै कार्यक्रमका प्रमुख अतिथि कोइरालाले पार्टीलाई बिपीकै सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो। त्यसका लागि पार्टी नेतृत्वले गम्भीर रुपमा सोच्नुपर्ने नेता कोइरालाको भनाइ छ ।
पार्टीको संगठन निर्माणसँगै देशमा प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि प्रजातन्त्र सेनानीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। इतिहासलाई सम्मान गर्नुपर्ने भन्दै नेता कोइरालाले इतिहासलाई भुलेर अघि बढ्न नसकिने बताउनुभयो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया