काठमाडौँः नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको उल्लेख गर्दै बलियो राष्ट्रिय शक्ति हुन नदिने खेल भइरहको दाबी गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको बहस’ शीर्षककाे लामो स्टाटस प्रकाशित गरी भूराजनीतिक द्वन्द्वको खेलले एमालेलाई कमजोर गराउने प्रयार गरिरहेको उल्लेख गरेका छन् । कुनै खास सन्दर्भबिनै उनले फेसबुकमा यो बहस चलाएका हुन् ।
‘अहिले नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धको घेराबन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू–राजनीतिक द्वन्द्वको खेल हो,’ उनले लेखकमा छन्, ‘नेपालका साना राजनीतिक दलहरू या त आफ्नो राजनीतिक कुण्ठाबाट ग्रस्त भएर उनीहरुका सहयोगी बन्न पुगेका छन् या त निराशा र कुण्ठाग्रस्त मनस्थितिमा सामाजिक अराजकताको वाहक बनिरहेका छन् र नेकपा(एमाले)को नेतृत्व माथि हमला गरिरहेका छन् । यो प्रवृत्ति हरेक हिसाबले जनता र राष्ट्रका लागि घातक छ । समाजवादको यात्राका लागि त झनै बाधक छ ।’
एमालेविरुद्ध साइबर हमला गरेर कमजोर गराउन खोजेको पोखरेलको भनाइ छ । ‘यतिबेला नेकपा(एमाले) विरुद्ध सुनियोजित साइबर हमला भइरहेको छ । त्यसको उद्देश्य नेकपा(एमाले)लाई कमजोर बनाउनु र नेपालमा बलियो राष्ट्रिय शक्तिको निर्माण हुन नदिनु हो,’ उनले लेखेको छन्, ‘मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको बाढी त्यसै उद्देश्यतर्फ लक्षित देखिन्छ ।’
नेपाल भूराजनीतिको चपेटामा पर्दै आएकाले स्वाधीन र स्वामिभान रहिररहन एमाले बलियो राष्ट्रि शक्ति हुनुपर्ने उनको तर्क छ । ‘नेपाल जस्तो संवेदनशील भूराजनीतिको चपेटामा परेको मुलुकमा राज्य बलियो नभईकन स्वाधीनता र स्वाभिमानको गौरवलाई जोगाउन सम्भव हुँदैन । त्यसमाथि विकास र समृद्धिका लागि राज्य बलियो हुनु अपरिहार्य छ,’ उनको तर्क छ, राज्यलाई बलियो बनाउनका लागि नीतिमा आधारित राजनीतिक स्थायित्व आवश्यक पर्दछ । यस उद्देश्य प्राप्तिका लागि नेकपा(एमाले) हरेक हिसाबले योग्य र सक्षम छ ।’
नेपालको राजनीतिक अस्थिरतका लागि माओवादी केन्द्र जिम्मेवार भएको र त्यसमा कांग्रेस एमाले नेताहरुको भूमिका रहेको उनको भनाइ छ । ‘प्रतिनिधिसभामा जम्मा ३२ सिट पाएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्नका लागि कहिले एमाले कहिले कांग्रेसतिरको गठबन्धन बनाए । उनीहरुलाई विश्वासमा लिएर भन्दा घुर्क्याएर शासन गर्ने र सरकारमा टिकिरहने नीति लिए,’ पोखरेलले भनेका छन्, ‘अनि भन्न थाले ३२ सिट भनेको चानचुने सिट होइन, यो त म्याजिक नम्बर हो । यसले त पाँचै वर्ष शासन गर्ला जस्तो छ । यही प्रवृत्ति नै हो नेपाली राजनीतिको अस्थिरताको कारक, यस प्रवृत्तिलाई मलजल गर्ने कुरामा कहीँ न कहीँ कांग्रेस एमालेका नेताहरु पनि जिम्मेवार छन् ।’
मुलुकको राजनीतिक स्थिरताका लागि दुई बलिया दलबीच प्रतिस्पर्धा हुनुपर्ने बताउँदै आएका उनले जनताको बहुदलीय जनवाद प्रतिस्पर्धात्मक विधि भएको बताएका छन् । ‘जनताको बहुदलीय जनवाद एकदलीयताको विरुद्धमा प्रतिस्पर्धा र पहकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने बाटो हो । जबजले धेरै दलका बीचको प्रतिस्पर्धा अपरिहार्य भनेर भनेको पनि छैन र त्यसरी सोच्नु पनि उचित हुँदैन,’ उनले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनमा भएको विभाजन आजको यथार्थ हो । तर भविष्यमा पनि यस्तै भइरहनु पर्दछ भन्ने कुरा वर्ग दृष्टिकोणका आधारमा गलत हो ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया