फागुण ५, २०८१ सोमबार February 17, 2025

आर्थिक गतिविधि चलायमान बनाउन अध्यादेशमार्फत कानुन

कानुन परिवर्तनले आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी आर्थिक गतिविधि चलायमान बनाउन अध्यादेशमार्फत कानुन ल्याइएको बताउनुभएको छ ।

भन्सार विभागले आइतबार आयोजना गरेको ३३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले निराशालाई आशामा परिणत गर्दै व्यावसायिक लगानीमैत्री वातावरण सिर्जना गरी अर्थतन्त्र गतिशील बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो ।

“राजस्व सङ्कलन लक्ष्यको हिसाबले चापमा छौँ, गत वर्षको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भए पनि चित्त बुझाएर बस्न हुँदैन,” अर्थमन्त्री पौडेलले भन्नुभयो, “चालु आवका लागि निर्धारण गरेको लक्ष्य हासिल गर्न सबैलाई आग्रह गर्छु ।” भन्सार विभागलाई यस आवका लागि पाएको राजस्वको लक्ष्य हासिल गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

राजस्व सङ्कलन, चुहावट, नियमितता अवैध कारोबार रोक्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै अर्थमन्त्री पौडेलले खुला सिमानाका कारण भन्सार प्रशासनलाई व्यवस्थित गर्न सुरक्षा निकायको समेत साथ आवश्यक रहेको बताउनुभयो । अहिलेको सरकारले नतिजा र परिणामलाई हेरेर काम गर्ने भएकाले नतिजा देखिने गरी भूमिका निर्वाह गर्न सम्बन्धित निकायलाई अर्थमन्त्रीले आग्रह गर्नुभयो ।

राजस्व सचिव दिनेश घिमिरेले व्यावसायिक र लगानीको वातावरण नभएको गुनासो आइरहेका बेला मुलुकको समग्र आर्थिक विकासका लागि लगानीको वातावरण सिर्जना भएको बताउनुभयो । निजी क्षेत्रको प्रतिबद्धता अनुसार सरकारले लगानीको वातावरण सिर्जना गरेकाले सोही अनुसार अगाडि बढ्न उहाँले निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

संसारमा भन्सार प्रशासन धेरै अगाडि रहेको र नेपाल प्रविधि सुधार गर्नेमा पछाडि रहेकाले एकीकृत भन्सार सूचना प्रणालीलाई प्रभावकारी लागु गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वच्छ व्यवसायीमैत्री वातावरण भए स्वतः राजस्व सङ्कलन बढ्ने बताउनुभयो । खुला सिमानाका कारण अवैध व्यापार बढ्दै गएकाले वैध व्यापारलाई प्रोत्साहन गरी अवैध व्यापारलाई न्यूनीकरण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

आर्थिक विकासका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले कानुन परिवर्तनले आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आर्थिक गतिविधिको विस्तारका साथै आपूर्ति प्रणाली, महँगी नियन्त्रण र राजस्वलाई अनुकूल बनाउँदै राष्ट्रिय अर्थतन्त्रका विभिन्न आयामलाई सकारात्मक दिशामा लैजान निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । पारदर्शी अर्थतन्त्र विकासका लागि सन्दर्भ पुस्तिका हटाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

भन्सार विभागका महानिर्देशक हरिशरण पुुडासैनीले व्यापारमा सहजीकरण गरी लागत कम गर्न आधुनिक प्रविधिको प्रयोग गर्न लागिएको जानकारी दिनुभयो । भन्सार प्रशासनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउन लागिएको र व्यापार सहजीकरण गर्न सरकारले अध्यादेशमार्फत ल्याएका कानुन कार्यान्वय गरी व्यापारमैत्री भन्सार प्रशासन बनाउन लागिएको जानकारी महानिर्देशक पुडासैनीले दिनुभयो ।

भन्सार दिवसका अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया